करिब ३ वर्षदेखि धरान ६ पानवारीस्थित माइतीमा बस्दै आएकी एक विवाहित युवतीले आत्महत्या गरेपछि उनको प्रेमी भनिएका युवा पक्राउ परेका छन्।
माइती घरमा मनिषा मगरले शनिबार राती झुण्डिएर आत्महत्या गरेकी थिइन्। उनी र स्थानीय सुनिल बस्नेतबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र अहिले बस्नेतले धोका दिएपछि झुण्डिएर आत्महत्या गरेको मृतकको परिवारजनको दाबी छ। मृतकका आफन्त र स्थानीयले बस्नेतविरुद्ध आइतबार प्रदर्शन गरेका थिए भने मृतककी बहिनीले प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले बस्नेतलाई पक्राउ गरेको थियो। उनलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको र सोमबार अदालतबाट ७ दिनको म्याद थप भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।
डिएसपी बस्नेतका अनुसार मृतक युवतीको झापाका युवासँग करिब ७ वर्षअघि नै विवाह भइसकेको थियो। तर केही वर्षदेखि माइती आएकी उनको र बस्नेतबीच प्रेम सम्बन्ध भएको स्थानीयको दाबी छ। ‘मनिषा विवाहित महिला हुन्, एउटा पनि रहेछ। तर, केही वर्षदेखि श्रीमानसँग नबसेर माइती आएर बसेको र अविवाहित केटासँग प्रेम भएको कुरा छ,’ डिएसपी कुँवरले भने,‘जाहेरी पनि परेकोले आत्महत्या दुरुत्साहन मुद्दामा ७ दिनको म्याद थप भएको छ, यसबारेमा अनुसन्धान गर्दैछौं।’
मृतकको आफन्तका अनुसार बस्नेतले नै स्वीकार्ने भनेपछि मनिषाले श्रीमान् छोडेर माइतीमा आएकी थिइन्। विदेशमा रहेका बस्नेतले नै मनिषालाई काठमाण्डौंमा खर्च पठाएर राखेका थिए भने नेपाल आउँदा जाँदा उनीहरुसँगै बस्ने गरेका थिए। विदेशबाट फर्किएर घर धरान आएका बस्नेतले सोमबार(असोज १८ गते) अर्कै केटी भगाउन लागेको बताएपछि मनिषा शुक्रबार नै काठमाण्डौंबाट धरान आएकी थिइन्। उनले शनिबार दिनभर प्रेमी सुनिललाई भेट्ने प्रयास गरेकी थिइन्। उनले सुनिलको घर, वडाध्यक्ष, प्रहरी चौकीमासमेत पुगेर केटालाई भेटाइदिन र छलफल गराउन आग्रह गरेपनि सम्भव नभएपछि राती करिब ७ बजेतिर झुण्डिएर आत्महत्या गरेको दिदी नाता पर्ने निशा थापाले बताइन्।
प्रहरीले मृतक र पक्राउ परेका सुनिलबीचको सम्बन्धबारे गहिरिएर अनुसन्धान गर्ने जनाएको छ। ‘मृतक विवाहित र केटा अविवाहित छन्। उनीहरुबीच सम्बन्ध के कस्तो हो? तथ्य प्रमाणहरु खोजी गछौ,’ डिएसपी कुँवरले भने।
प्रकाशित: १८ आश्विन २०७८ १४:५३ सोमबार