५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आरक्ष क्षेत्रको रैथाने मकुना हात्तीको मृत्यु

कोशी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ। सुनसरी कोशी गाउँपालिका वडा नं. ३ की अमलदेवी सरदारको धान खेतमा करेन्टमा परेर मकुना हात्ती आइतबार बिहान मृत अवस्थामा भेटिएको हो।

धानखेतमा मकुना हात्ती करेन्ट लागेर मरेपनि योजनावद्द मारिएका वा हात्ती अन्जानमा परेर मरेको भन्ने खुल्न नसेको आरक्षका संरक्षण अधिकृत वार्डेन अशोक रामले बताए। ‘निकै चुनौतीका साथ हात्ती संरक्षण गर्दै आए पनि मकुना करेन्ट लागेर मर्यो। बडो दुःखद खबर हुन पुग्यो,’ उनले भने, ‘हात्ती मरेको विषयमा अनुसन्धान थालिएको छ।’ मकुना हात्तीको आक्रमणबाट श्रृखलाबद्द रुपमा मानवीय क्षति भइरहेका बेला हात्तीलाई निसाना बनाएर गाउँलेले भालासँगै अन्य धारिलो हतियार टाढाबाट प्रहार गर्ने क्रम बढेको थियो। जसले गर्दा मकुना स्थानान्तरण गर्ने विषय उठ्दै आएको थियो। २०६७ सालताका कोशी टप्पु तथा आसपासका क्षेत्रमा देखिने गरेका १३ वटा हात्तीमध्ये मकुना जंगली हात्तीको नाइकेसमेत थियो। त्यो बेला मकुनासँगै आरक्ष तथा आसपासका क्षेत्रमा रहेका हात्तीमध्ये अघिल्लो वर्षको मंसिर पहिलो साता बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा एउटा जंगली हात्तीको मृत्यु भएको थियो।

त्यतिबेला कञ्चनरुप वडा नं. ५ मा बिजुलीको पोल लडाएर तार लत्रिएर जेलिँदा बुढो दाह्रे हात्तीको मृत्यु भएको थियो। विशेषगरी धान पाक्ने र भित्र्याउने सिजनमा हात्ती आरक्षको मध्यवर्ती क्षेत्रका विभिन्न स्थानका किसानले लगाएको धान बाली नष्ट गर्ने गरेको गरेको छ। जसले गर्दा किसानले जंगली हात्तीबाट धानबाली जोगाउन करेन्ट लगाउने गर्छन्।

कोशी टप्पु तथा आसपासका रैथाने जंगली हात्ती मर्ने श्रृंखलाकै क्रममा पुस तेस्रो साता सप्तरीमै झन्डै २२ वर्षको जवान भाले दाह्रे हात्तीलाई स्थानीय गाउँलेले बाली जोगाउन लगाएको बिजुलीको करेन्ट लागेर मृत्यु भएको थियो।

मकुनासँगै कोशी टप्पु तथा आसपासका क्षेत्रमा शुरुवातमा आएका १३ वटा हात्तीमध्ये अहिले १० वटाको मृत्यु भइसकेको आरक्षका वार्डेन रामले बताए। आरक्ष प्रशासनका अनुसार १० वटामध्ये सातवटा करेन्ट लागेर, दुईवटा गोली लागेर र दुईवटा सप्तकोशीको दलदलमा भासिएर मरेका छन्। कोशी टप्पु तथा आरक्ष आसपासका क्षेत्रमा अहिलेपनि १४ वटा हात्ती रहेका छन्। सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबार गरिए पनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ।

कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। नेपालमा कूल २०० देखि २२५ वटा जंगली हात्ती छन्। हात्तीको संरक्षण गर्न र मावनीय क्षति कम गर्न कोशी टप्पु आरक्ष आसपासको मध्यवर्ती क्षेत्रका बासिन्दा र आरक्ष प्रशासनबीच सम्बन्ध सुधार्नका लागि सरकारी स्तरबाट प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने  हुन्छ। कोशी टप्पु आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जीवनयापन कृषिले धानेको छ। जसले गर्दा बाली नष्ट गर्न बस्तीमा प्रवेश गरेका हात्तीलाई निशाना बनाउने स्थानीयको संस्कार र हात्ती रिसाएर आक्रमण हुँदा दुवैको क्षति हुने क्रम बढ्दो छ। कोशी टप्पु आरक्ष बस्ती बीचमा हुँदा पनि समस्या भएको हो।

आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।

प्रकाशित: १७ आश्विन २०७८ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App