१६ चैत्र २०८० शुक्रबार
समाज

आठ सहसचिव जिम्मेवारीविहीन

गृह मन्त्रालयमा कार्यरत आठजना सहसचिव दुई हप्तादेखि जिम्मेवारीविहीन छन्। अन्य कार्यालयबाट सरुवा भई गृहमा आएका सहसचिवलाई मन्त्रालयले काम दिएको छैन।  

मन्त्रालयले जिम्मेवारी नदिएपछि उनीहरूको काम भनेको बिहान कार्यालयमा आई हाजिरी गर्ने र साँझ घर फर्कने मात्र भएको छ। उनीहरूका लागि कार्यकक्षको व्यवस्था पनि गरिएको छैन। भदौ २९ गते सरकारले एकैपटक ८५ जना सहसचिव सरुवा गरेको थियो। 

त्यसबेला सरुवा गरिएका सहसचिवमध्ये आठजना सहसचिवले अझै काम पाएका छैनन्। गृहमा करिब ७० को संख्यामा सहसचिवसरहका कर्मचारीको दरबन्दी कायम गरिएको छ। तीमध्ये केही महत्वपूर्ण जिल्लामा सहसचिवसरहका कर्मचारीलाई गृहले प्रमुख जिल्ला अधिकारी बनाई पठाउने गरेको छ ।

गृहमा सरुवा भएर काम नपाएका सहसचिवमा भीष्म भुसाल, विपीन आचार्य, रमेश खनाल, पुष्पराज शाही, कोषहरि निरौला, ढुण्डी निरौला, वासु दाहाललगायत छन्। भुसाल यसअघि प्राकृतिक तथा वित्त आयोगमा कार्यरत थिए भने विपीन आचार्य र रमेश खनाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। 

यसैगरी ढुण्डीराज निरौला ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए। कोषहरि यसअघि सुनसरीमा कार्यरत थिए। १५ दिनसम्म पनि जिम्मेवारी नदिएकोमा एकजना सहसचिवले गुनासो पोखे। ती सहसचिवले भने, ‘केहीलाई सरुवा हुनेबित्तिकै जिम्मेवारी दिइएको छ। केहीलाई भने १५ दिनसम्म पनि जिम्मेवारी दिइएको छैन ।’

यसैगरी गृहले बिहीबारमा ३० उपसचिवहरूको सरुवा गरेको छ। गृह मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूलाई गृहमा ल्याएको छ भने गृहमा कार्यरत १५ जना उपसचिवहरूलाई अन्य विभिन्न कार्यालयमा सरुवा गरेको छ।  

मन्त्रालयका अनुसार अन्य कार्यालयबाट सरुवा भई गृहमा जाने उपसचिवमा दीपक कोइराला, रवीन्द्र आचार्य, गणेश पौडेल काशीराम गैरे, अञ्जन न्यौपाने, सूर्य खत्री, शेखर पौडेल छन्। यसैगरी पुष्कर राना, निराजन श्रेष्ठ, चेतराज बराल, फणिन्द्र दाहाल, अनुज घिमिरे, सुप्रभा खनाल, वासु कोइराला, विश्व मरासिनी अन्य कार्यालयबाट गृहमा सरुवा भएका छन् ।

यसैगरी सरकारले गृह मन्त्रालय र गृह मातहतका विभिन्न कार्यालयमा कार्यरत १५ उपसचिवलाई गृहबाहिर सरुवा गरेको छ। यसरी सरुवा हुनेहरूमा अनुज भण्डारी, अनिल शाही, जीवन आचार्य, जयराज भण्डारी, गणेशबहादुर अधिकारी, जयराज भण्डारी, त्रिलोचन रिमाल, वासुदेव घिमिरे, विष्णु लामिछाने, भीमप्रसाद भट्टराई, बाबुराम खनाल छन्। यसैगरी विष्णुहरि उपाध्याय, कृष्ण भण्डारी, टेकनारायण पौडेललगायत उपसचिवलगायतका उपसचिव गृहबाट अन्य कार्यालयमा सरुवा भएका छन् ।

गृहबाट सरुवा भएका एक उपसचिवले केही व्यक्तिलाई तत्कालै सरुवा गरिएको र केही व्यक्तिलाई लामो समयसम्म गृहमा बस्दा पनि सरुवा नगरिएको भन्दै गुनासो पोखे। निजामती कर्मचारीका लागि गृह मन्त्रालय सबैभन्दा आकर्षक कार्यालय हो। गृहमा जान निजामती कर्मचारीहरूले विभिन्न तहबाट लबिङ गर्ने गर्छन्। खासगरी उच्च तहका कर्मचारी गृहमा जान मरिहत्ते गर्छन् ।

प्रकाशित: १६ आश्विन २०७८ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App