१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

अझै खुलेन विराटनगरसँग जोडिएको रानी नाका

फाइल तस्बिर

कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्द भएको अन्तर्राष्ट्रिय सीमा नाका पूर्ण रुपले खुल्न सकेको छैन। भारतसँग सीमा जोडिएको मोरङका कुनै पनि सीमा नाका खुलेका छैनन्।

कोरोना संक्रमण फैलिएपछि त्यसको नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ देखि सम्पूर्ण सीमा नाका बन्द गरेको थियो। भारतको जोगबनीसँग जोडिएको रानी नाका पूर्णरुपले खुलेको छैन। यात्रुहरुलाई सहज आवतजावतका लागि आंशिक रुपमा रानी नाका खुलेको छ। सरकारले सीमा नाका खोल्ने निर्णय गरे पनि शुक्रबारसम्म रानी नाका नखुलेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) काशीराज दाहालका अनुसार यात्रुहरुको सहजताका लागि पहिल नै रानी नाकाबाट आवतजावतका लागि खुलेको छ। ‘मैले पनि नाका खुल्यो भनेर सुनेको हो,’ सिडियो दाहालले भने, ‘भन्सार कार्यालयलाई भन्सार विभागबाट आधिकारी रुपमा खोल्ने निर्देशन आएपछि खुल्ने छ।’ विभागको निर्देशन नआएकाले नखोलेको हो।  

‘सम्बन्धित निकायबाट खोल्ने निर्देशन आए खोल्न तयार छौं,’ सिडियो दाहालले भने, ‘स्वास्थ्य मापदण्ड पूरा गर्न हाम्रो हेल्प डेस्कसँग समन्वय गरेर आउने व्यवस्था हुनेछ। भन्सार सुविधा लिएर उपचार गर्न, आफन्तसँग भेटघाट गर्न वा घुमफिरलगायतका काममा आउनका लागि रोक्ने छैनौं।’    

मालवाहक सावरीसाधन भने एकीकृत जाँच चौकी हुँदै नेपाल–भारत आवतजावतमा कहिले पनि रोक लगाइएको छैन। निजी तथा साना सवारीसाधन मात्रै नेपाल आउन रोक लगाइएको छ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार शुक्रबार मात्रै विभागबाट निर्देशन प्राप्त गरेकाले अहिलेसम्म नाका बन्द नै रहेको छ। ‘शनिबार (भोलि) जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्छौं,’ यादवले भने, ‘सम्भवत शनिबारदेखि नै नाका खुल्ने छ। प्रशासन कार्यालय र सुरक्षा निकायसँगको समन्वयमा शनिबारबाट नाका खोल्ने छ।’

प्रकाशित: १५ आश्विन २०७८ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App