coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोभिड प्रभावितलाई सहयोग

जुम्लाको चन्दननाथ नगरपालिकाका कोभिड प्रभावितलाई खाद्यान्न सामग्री प्रदान गरिएको छ। नगरपालिकाको १, ४ र  ५ वडाका ३० घरपरिवारलाई राहतस्वरुप खाद्यन्न सामाग्री सहयोग गरिएको हो। नगरप्रमुख कान्तिका सेजुवालले खाद्यान्न सामाग्री प्रदान गर्दै कोरोनाका कारण जनजीवन निकै प्रभावित भएको बताइन्। उनले भनिन्, ‘सबैभन्दा विपन्न ज्याला मजदुरी गरेर खाने नागरिक प्रभावित भए। उनीहरुलाई यो राहत सामाग्रीले ठूलो राहत मिल्नेछ।’

कोरोना संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो। त्यो बेला ज्याला मजदुरीका काम हुन सकेन। घरमै थन्किएर बस्दा आम्दानीको स्रोत गुम्यो। मेयर सेजुवालले भनिन्, ‘अहिले हातमुख जोड्न पनि कठिन भएको छ। यो अवस्थामा दिइएको खाद्यान्न सामाग्रीले निकै ठूलो महत्व राखेको छ।’

संकटका बेला खाद्यान्न सहयोग गर्ने दातृ निकायलाई उनले धन्यावाद दिइन्। कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्तरगत खाद्यान्न सामाग्री सहयोग गरिएको हो। नगरप्रमुख सेजुवालले भनिन, ‘कोरोना प्रभावितलाई केन्द्रीत गरेर राहत बाँडेकोमा नगरपालिका खुसी व्यक्त गर्दछ। यसले प्रभावितको घरमा चुल्हो बाल्न सहयोग गर्ने छ।  यो राहत सामाग्री थोरै भएपनि निकै ठुलो राहत दिनेछ।’  

पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले प्रतिपरिवार एक बोरा चामल, साढे २ केजी दाल, दुई लिटर तेल, एक पोका नुन र र एक केजी चिनी प्रदान गरिएको थियो। कोभिड प्रभावितलाई सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको थियो।  

राहत वितरणका क्रममा उपस्थित प्रभावितलाई घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो। राहत वितरणमा सम्बन्धित वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कोभिड प्रभावितको सहभागिता थियो। दसैँको मुखैमा खाद्यान्न सहयोग पाएपछि कोभिड प्रभावित नागरिक निकै खुसी थिए। आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउन आग्रह गरेका थिए।

प्रकाशित: १४ आश्विन २०७८ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App