१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पत्रकारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेकी गाउँपालिका उपाध्यक्षले माफी माग्दै फिर्ता लिइन्

शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाही ।

बलात्कार आरोप लागेका कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीसँग आफूलाई जोडिएको एवम् टिकटक सामाजिक सञ्जालमा शेयर गरेको भन्दै नागरिककर्मी नगेन्द्र उपाध्यायसहित सात पत्रकारविरुद्ध जिल्ला अदालत कालिकोटमा बेइजती मुद्दा दर्ता गरेकी शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फाकुमारीले मुद्दा फिर्ता लिएकी छन्। दुई साताअघि उपाध्यक्ष शाहीले आफ्नो फेसबुक अकाउण्टमार्फत बलात्कार आरोपी मन्त्री शाहीको फोटो राखेर टिकटक बनाएकी थिइन्।  

उक्त टिकटक शेयर गरेको एवम् समाचार बनाएको बताउँदै उपाध्यक्ष शाहीले नागरिकर्मी नगेन्द्र उपाध्यायसहित शेरबहादुर थापा, ललित विष्ट, पवित्रकुमार शाही, प्रेम सिम्खाडा, विष्णु न्यौपाने, पुष्प भट्टराईलगायतका पत्रकारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। उनले आक्रोशमा आएर मुद्दा दर्ता गरेको भन्दै आइतबार अदालतमा निवेदन दिएर फिर्ता लिएकी हुन्।

जिल्ला अदालत कालिकोटका श्रेष्तेदार प्रेमप्रकाश थापाले गाउँपालिका उपाध्यक्षले अदालतमा बेइजतीविरुद्धको मुद्दा फिर्ता लिएको जानकारी दिए। ‘नगेन्द्र उपाध्यायसहित सात जनाविरुद्ध बेइजतीविरुद्धको मुद्दा दर्ता भएको थियो,’ उनले भने, ‘हामीले म्याद जारी गरिसकेका थियौं, तामेली नहुँदै उपाध्यक्षले फिर्ता लिनुभयो।’  

श्रेष्तेदार थापाका अनुसार निवेदनवापत १० रुपैयाँ तिरेर उपाध्यक्ष शाहीले मुद्दा फिर्ताको निवेदन दिएकी थिइन्। ‘प्रतिउत्तर नगर्दै मुद्दा दर्ता गर्ने व्यक्तिलेनै फिर्ता लगिसकेपछि यो विषय टुङ्गिएको छ,’ उनले भने, ‘म्याद तामेल गरेको भए प्रतिवादीहरुले प्रतिउत्तर लगाउनु पर्दथ्यो।’  

गाउँपालिका उपाध्यक्ष शाहीले आफ्नो रिसले आफैलाई घाटा भएको बताइन्। ‘मुद्दा प्रक्रियामा जाँदा १५ हजार रुपैयाँ खर्च भयो,’ उनले भनिन्, ‘समय पनि खेर गयो, पैसा पनि गयो।’ उपाध्यक्ष शाहीले समाचार शेयर गरेको भन्दै कालिकोटको रेडियो नयाँ कर्णालीका पत्रकार ललित बिष्टमाथि हातपात गर्नुका साथै पत्रकार प्रेमराज सिम्खाडालाई गालीगलौज गरेकी थिइन्। सोमबार कालिकोटका प्रमुख जिल्ला अधिकारीको समन्वयमा भएको छलफलका क्रममा उपाध्यक्ष शाहीले आफूले आवेगमा आएर मुद्दा दर्ता गरेको र पत्रकारमाथि हातपात गरेको भन्दै माफी मागेकी थिइन्। उनले आफ्ना समर्थकहरुलाई पत्रकारलाई फोनमार्फत, सामाजिक सञ्जालमार्फत गाली नगर्नका लागि सार्वजनिक अपिल गर्ने बताएकी छन्।

उपाध्यक्ष शाहीले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, कर्णाली प्रदेश कार्यालय र शाखा कार्यालय कालिकोटमा पनि समाचार लेख्ने र समाचार शेयर गर्ने पत्रकारहरुलाई कारवाहीको माग गदै निवेदन दिएकी छन्।

प्रकाशित: ११ आश्विन २०७८ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App