२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीको अनुसन्धानमाथि एकपछि अर्को प्रश्न

रौतहट प्रहरीले गरेको एकपछि अर्को अनुसन्धानमाथि प्रश्न उठ्ने गरेको छ। प्रहरीले अनुसन्धान गर्न नसकेर वा नियतवश अरूलाई फसाउन गरेको अनुसन्धानमाथि गम्भीर किसिमले प्रश्न उठ्ने गरेको छ। गत वर्षदेखि रौतहट प्रहरीको अनुसन्धानमाथि दाग लाग्ने गरी नै एकपछि अर्को प्रश्न उठेको देखिएको छ।  

गत वर्ष रौतहटको गरुडा नगरपालिका ८ बसबिटी जिंगडियाका निरन्जन पासवानको हत्या भएकोमा अनुसन्धानको लागि स्थानीय विजय पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनामा कुनै संलग्नता नै नभएको पासवानलाई प्रहरीले चरम यातना दिएर हिरासतमै मृत्यु भएको थियो। 

एक किशोरको भएको हत्याको अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अर्का किशोरको प्रहरीले चरम यातना दिएर हत्या गरेको आरोप स्थानीयले लगाएका थिए। लामो समयसम्म आन्दोलन नै चलेपछि इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख डिएसपी र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी हटाइएका थिए।

प्रहरीले तथ्यगत अनुसन्धान नै नगरी कतैबाट प्रभावित भएर निर्दोषलाई नियन्त्रणमा लिई चरम यातना दिएर मार्नु भनेको प्रहरीको अनुसन्धानको अक्षमता र प्रहरी प्रमुखको अकर्मण्यता भएको बुझाइ सर्वसाधारणको रहेको छ।

गत वर्ष नै रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको थियो। हत्यामा संलग्न रहेको व्यक्तिलाई पक्राउ गरेर यत्तिकै छोडिएको भनी प्रहरीको आलोचना भएको थियो। 

मुख्य दोषीलाई प्रहरीले बचाउन लबिङ नै गरेको आरोप लागेको थियो। पुजारीको हत्याको स्वतन्त्र अनुसन्धान नगरी राजनीतिक प्रतिशोध लिने र पीडितलाई झन् पीडा दिने काम गरेको पुजारीका आफन्तले पत्रकार सम्मेलन गरेर नै जानकारी गराएका थिए।

पक्राउ परेका दोषीलाई पनि प्रहरीले कमजोर अनुसन्धान प्रतिवेदन बनाएकोले अदालतबाट रिहा भएको स्थानीयको भनाइ छ। गत साउन महिनामा प्रहरीले नै लागुऔषध पत्रकारको मोटरसाइकलमा राख्न लगाएर फसाउन खोजेको घटनाले त झन् प्रहरीमाथि कालो दाग लाग्न पुगेको छ।

 अपराधलाई नियन्त्रण गर्ने र अपराधीलाई पक्राउ गरी कानुनअनुसार अदालतमा पुर्‍याउनु पर्नेमा प्रहरीले अवैध लागुपदार्थ एकजना पत्रकारको मोटरसाइकलमा राखेर पक्राउ गरी लागुऔषध मुद्दा चलाउन खोज्नु रौतहट प्रहरीले गरेको अपराध नै भएको जिल्लावासीको बुझाइ छ।  

पक्राउ परेका पत्रकार शेख मोजिबुल्लाहले आफूले भनेको कुरा प्रहरीले टाइप नगरी आफूले बोल्ने एक थोक र प्रहरीले बकपत्रमा अर्कै थोक टाइप गरेको बताएका थिए। यसैगरी जिल्ला प्रहरी कार्यालयको तत्काली कार्यालय प्रमुखले जथाभावी अपशब्द प्रयोग गरेको पनि पत्रकार मोजिबुल्लाहले बताएका थिए। लागुऔषध काण्डमा रक्षक नै भक्षक भएको प्रमाणित भएको थियो।

सिसिटिभी फुटेज र अडियो सार्वजनिक नभएको भए एकजना निर्दोषलाई रौतहट प्रहरीले फसाएर जीवन नै बर्बाद पार्न खोज्ने गम्भीर षडयन्त्रमूलक अपराध गरेको थियो। रौतहट प्रहरीको काम कारबाही र अनुसन्धानमाथि एकपछि अर्को प्रश्न उठ्दै गर्दा पछिल्लो कार्यकालका दुई प्रहरी प्रमुख तानिएका छन्।

प्रहरीको निष्पक्षतामाथि दाग लागेको अवस्थामा अबका प्रहरी प्रमुखलाई स्वतन्त्र र निष्पक्ष भई काम गरेर संगठनप्रति विश्वास जगाउनुपर्ने जिम्मेवारी रहेको नागरिक समाजका जिल्ला सचिव विजयकिशोर झाको भनाइ छ।

प्रकाशित: ११ आश्विन २०७८ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App