१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

जिल्ला प्रहरीले दसैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना ल्याएको छ। २७ बुँदे सुरक्षा योजना जिल्लाका मातहत प्रहरी इकाईलाई सर्कुलरसमेत गरिएको छ।  

सामान्य अवस्थाभन्दा सशक्त र प्रभावकारी ढंगले शान्ति सुरक्षा कायम राख्न विशेष सुरक्षा योजना ल्याएको प्रहरीले जनाएको छ। चाडबाडलाई लक्षित गरी मेची राजमार्ग र भारतीय सीमा क्षेत्रमा १५ तथा भित्री सडकमा २६ चेक पोइन्ट व्यवस्था गरिएको छ। 

दिनहुँ ४१ गस्ती, ३९ क्विक रेस्पोन्स टिम, १० मोबाइल सवारी गस्ती, ग्रामीण गस्ती र पिकेटिङको योजना बनाइएको जिल्ला प्रहरीका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए। ‘यो योजनाअनुसार राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिनेछ,’ उनले भने, ‘मानिसको भिडभाड हुने मुख्य बजार क्षेत्र, बैंक, वित्तीय संस्था, सरकारी कार्यालय, सुनचाँदी पसल र संवेदनशील स्थानमा चौबीसै घण्टा सिसी क्यामेरामार्फत् निगरानी गरिनेछ।’  

शंकास्पद व्यक्ति भेटिए उसलाई सोधपुछ, खानतलासी र आवश्यक देखिए पक्राउसमेत गरिने प्रहरीले जनाएको छ। विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा कमान्ड सेन्टर निर्माण गरिएको छ। 

‘सुरक्षा योजनाबारे मातहत इकाईलाई विशेष निर्देशन भइसकेको छ,’ तामाङले भने, ‘परिचालित ड्युटी अनुगमन गर्न सिनियर प्रहरी अधिकृतहरूसमेत खटाइएको छ।’

प्रकाशित: ९ आश्विन २०७८ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App