उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ११ करोड रुपैयाँ कर उठेको थियो भने चालु आर्थिक वर्षमा ९५ करोड रुपैयाँ उठाउने लक्ष्य लिइएको छ। 'बिहीबारदेखि करदातामा नयाँ योजना लागू भएको छ,' महानगरपालिका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले भने, 'पहिलो दिनमा यसबारे जानकारी लिनेहरु आएका छन्। चासो उत्तिकै छ।' यसबारे व्यापक प्रचारप्रसार गरेर अगाडि बढ्न थालेको उनले जानकारी दिए।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँभन्दा माथिका करदातालाई विभिन्न सुविधासहित कर तिर्नका लागि प्रोत्साहन गरेको थियो। 'अघिल्लो आर्थिक वर्षमा ठूला करदातालाई समेटेका थियौं,' उनले भने, 'ठूला करदाता कतिपयले बुझाएका छन् भने कतिपय दायरामा आएका छन्। दायरामा नआएका कतिपय सानादेखि ठूलासम्मकालाई फेरि नयाँ व्यवस्था भएको छ।'
यसैको फस्वरुप पार्किङ शुल्क र होर्डिङ बोर्डबाट कर शून्य हुँदा पनि आम्दानीमा महानगरले फड्को मारेको उनले बताए। यसअघि ५ प्रतिशत लिइँदै आएको बहाल कर दुई प्रतिशत राख्ने र नेपाल सरकारलाई दस प्रतिशत बहाल कर तिरेको प्रमाण ल्याए दस प्रतिशतको रकम बराबर छुट, मर्मतका लागि ५ प्रतिशत छुट दिने, साथै पुस मसान्तसम्म तिर्न आए थप २० प्रतिशत छुट दिने, यति सुविधा दिए पनि नआए पुसपछि बक्यौतामा थप १५ प्रतिशत जरिवाना लिइनेछ।
यसबाहेक व्यवसाय करको न्यूनतम दरमा दर्ता गर्ने र मनोरञ्जन कर ५ प्रतिशतबाट २ प्रतिशत उठाउने निर्णयले साना करदातालाई आकर्षित गर्ने योजना महानगरको रहेको उनले जनाए। साथै, महानगरलाई सवारी कर तिर्न यातायात व्यवस्था कार्यालय बागमती एकान्तकुना ललितपुरमा मात्र रहेकामा अब ३५ वटै वडाबाट तिर्न सकिने भएको छ।
'हामीले यसअघि ठूलो करदातालाई प्रोत्साहन गर्नका लागि कर छुट र जरिवाना छुट दिएको हो र अहिले पनि निरन्तरता नै छ,' उनले भने, 'तारे होटल र व्यापारिक भवनबाट कर असुल्ने काम भइरहेको छ। कतिपय करको दायरामा आइसकेका छन्।' महानगरको तथ्यांकअनुसार अहिलेसम्म १ लाख २३ हजार करदाता करको दायरामा छन् भने आठ लाखभन्दा बढी कुल करदाता छन्।
प्रकाशित: १ श्रावण २०७१ २१:५० बिहीबार





