८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

भक्तपुरमा अपराधको तथ्यांक बढ्दो

भक्तपुरमा अपराधको तथ्यांक बढी रहेको पाइएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठले जिल्लाको पाँचवर्षीय अपराध तथ्यांक बढ्दो अवस्थामा रहेको बताए।  

भक्तपुर नगरपालिका, समुदाय प्रहरी साझेदारी समितिको आयोजनामा भक्तपुरमा अपराधको वर्तमान अवस्था, समस्या पहिचान र समाधान विषयक शुक्रबार भएको अन्तर्क्रियामा एसपी श्रेष्ठले भक्तपुर जिल्लाको वर्तमान अपराधका अवस्थाबारे तथ्यांकसहितको प्रस्तुतीकरण देखाएका थिए। उनले समाजमा हुने कुनै पनि आपराधिक घटनाबारे समयमै प्रहरीलाई सूचना प्राप्त भए अपराध अनुसन्धान र नियन्त्रणमा प्रभावकारी हुने बताए।  

कार्यक्रममा व्यक्त जिज्ञासाहरुमाथि प्रष्ट पार्दै उपरीक्षक श्रेष्ठले अपराधका घटना नियन्त्रणमा जनप्रतिनिधि र स्थानीय जनताहरुसँगको सहकार्य आवश्यक भएको बताए। नगरको मुख्य नाकाहरुमा सीसीटिभी जडान गर्ने योजना रहेको, मदिरा सेवन गरी होहल्ला र झगडा गर्नेहरुलाई प्रहरीको टोलीले आवश्यक परामर्श दिनेलगायतका कार्यहरुमा जोड दिँदै आएको उनले बताए।

प्रस्तुतीकरणपश्चात कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आफ्ना जिज्ञासाहरु राख्दै नगरपालिकाभित्र सञ्चालित किराना पसलहरुमा घरेलु मदिरा बिक्रीवितरणका कार्य नियन्त्रण गर्नुपर्ने, जगाती—कमलविनायक सडकमा सीसीटिभी जडान गर्नुपर्ने, भट्टी पसलमाथि प्रहरीको निगरानी र नियन्त्रण आवश्यक भएको बताए। उनीहरुले द्रुत गतिमा सवारीसाधन हाक्नेहरुलाई नियन्त्रणमा लिनुपर्ने, कलेज तथा विद्यालयहरुमा हुने लागूऔषध सेवनमा प्रहरीले निगरानी राख्नुपर्ने, सम्पदास्थलमा घुम्ती प्रहरी परिचालन गर्नुपर्नेलगायतका जिज्ञासा राखेका थिए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रहरी प्रशासन र जनप्रतिनिधिको साझा प्रयासले मात्र शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्भव हुने बताए। सम्पदा क्षेत्रमा हुने अभद्र तथा अनैतिक क्रियाकलापहरुबारे प्रहरी प्रशासन सतर्क हुनुपर्ने बताउँदै उनले सामाजिक अपराध न्यूनीकरणमा सबैको संयुक्त पहल आवश्यक भएको बताए।  

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका क्षेत्रभित्रको अपराधको घटनाहरु सार्वजनिक गरिनुपर्नेमा जोड दिँदै भक्तपुर नपालाई सुरक्षित नगर बनाउन सबैको संयुक्त पहल आवश्यक भएको बताइन्।  

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि शान्ति सुरक्षाका विविध विषयहरुमा आआफ्ना धारणा राखेका थिए।

प्रकाशित: ८ आश्विन २०७८ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App