११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

समाज कल्याण परिषदका पदाधिकारीद्वारा सामूहिक राजीनामा

समाज कल्याण परिषदका उपाध्यक्षसहितका पदाधिकारीहरुले पदबाट सामूहिक राजीनामा दिएका छन्। परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरुले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिएका परिषदका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको बजेट पास गर्न नदिएको र केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका परिषदमा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीको मात्रै म्याद थप गर्न नदिएपछि आफूहरुले पदबाट दिनु परेको परिषदका सदस्य सचिव खातीले जानकारी दिए।  

२०५३ सालदेखि अस्थायी, ज्यालादारी र करारमा काम गर्दै आएका सबै कर्मचारीको म्याद थप हुने तर ओली नेतृत्वको सरकारको पालाका कर्मचारीहरुको चाँही म्याद थप नहुने अवस्था परिषदको स्थापित मान्यता विपरित भएकाले आफूहरुले सरकारलाई मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको पनि उनले स्पष्ट पारे।  

परिषदका उपाध्यक्ष खतिवडा, कोषाध्यक्ष सुवेदी, सदस्य सचिव खाती, बोर्ड सदस्यहरु नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ र  डा. मणिराम बञ्जाडेलाई केपी ओली नेतृत्वको सरकारले २०७७ साल साउन ५ गते परिषदमा नियुक्त गरेको थियो।  

शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाईसामूहिक रुपमा राजीनामा बुझाएका उनीहरुले आफनो १४ महिने कार्यकालमा सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको क्षेत्रको रुपमा स्थापित गराउने गरी अघि बढाएको, परिषदलाई प्रविधिमैंत्री बनाएको र ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गराउने दिशामा आफूहरुले सम्पूर्ण शक्ति परिचालन गरेको दावी समेत गरेका छन्। परिषदका उपाध्यक्ष खतिवडाले सामाजिक उद्यमशीलता कोषको स्थापना गरी त्यसैमार्फत् उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा आफूहरुले महत्वपूर्ण काम अघि बढाएको बताए।

खतिवडाले आफूहरुले परिषदलाई विधिसम्मत ढंगले अघि बढाउन खोज्दा पनि सरकारले नदिएको भन्दै आक्रोश समेत व्यक्त गरे। आफूहरुमाथि वर्तमान सरकारले राजनीतिक प्रतिशोध लिएको पनि राजीनामा दिएका परिषदका पदाधिकारीहरुको आरोप छ। त्यस अवसरमा उनीहरुले समाज कल्याण परिषदलाई विधिसम्मत ढंगले अघि बढाउने अवसर प्रदान गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङप्रति आभार पनि व्यक्त गरेका थिए।

प्रकाशित: ८ आश्विन २०७८ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App