मोटरसाइकल चोरी गर्ने गिरोहले माग अनुसारको मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसार मोटरसाइकल चोरी गर्ने गरेका हुन्।
मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसार मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए। पक्राउ परेकाको बयान उद्धत गर्दै उनले भने, “ग्राहकको मागअनुसार ब्राण्ड, रङ्ग, मोडल खोजी खोजी चोरी गरेको पाइयो।”
कार्यालयले विगत एक महिनादेखि सुरु गरेको ‘अप्रेशन माइक चार्ली’ अभियानका क्रममा पक्राउ परेका १४ जनालाई कार्यालयले आज सार्वजनिक गरेको छ। आठ वटा मोटरसाइकल र रु ९१ हजार नगद बरामद गरिएको अधिकारीले जानकारी दिए।
पक्राउ परेकालाई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ आश्विन २०७८ १५:२३ बिहीबार


-600x400.jpg)


