१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाघ हिँड्ने बाटोमा नगरको फोहोर!

वसन्ता हरियाली सामुदायिक वन क्षेत्रमा फ्याँकिएको फोहोर । तस्बिरः पुष्पराज/नागरिक

वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा रहेको बढैपुर–राजीपुर क्षेत्रको वनमा गौरीगंगा नगरपालिकाले डम्पिङ साइट बनाउँदा त्यस क्षेत्रमा हिँड्डुल गर्ने बाघलगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर परिरेको छ।  

गौरीगंगा नगरपालिकाको गौरी गणेश सामुदायिक वन र हरियाली वसन्ता सामुदायिक वन पछिल्लो समयमा पाटेबाघको मुख्य बासस्थान बनेको छ। त्यही सामुदायिक वन भएर लोपोन्मुख पाटेबाघ वसन्ता जैविक मार्ग आउजाउ गर्ने गरेको छ। बाघको हिँड्ने बाटो रहेको हरियाली सामुदायिक वनमा नगरपालिकाले मनोमानी रुपमा फोहोर फ्याँक्दा बाघ लगायत जंगली जनावरलाई असर परिरहेको संरक्षणकर्मीहरु बताउन थालेका छन्।

बाघको हिँड्ने बाटोमै गौरीगंगा नगरपालिकाले फोहोर फ्याँकिदिँदा त्यसले वन्यजन्तुलाई असर गरिरहेको वन वातावरणका क्षेत्रमा क्रियाशील तथा सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘बाघको हिँड्ने बाटो भइसकेको बढैपुर–राजीपुर क्षेत्रको जंगलमा जथाभावी फोहोर फ्याँकिदिँदा त्यसले वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको छ।’  

विगत आठ वर्षदेखि सो क्षेत्रको जंगलमा डढेलो नलागेको भए पनि नगरपालिकाले फोहोर फ्याँकेर सो फोहोर जलाउन प्रयोग गरिएको आगोले जंगलमा यस वर्ष डढेलो सल्केको उनले बताए। ‘सात÷आठ वर्षदेखि जंगल जोगिएको थियो,’ सापकोटाले भने,‘नगरपालिकाले जंगलमा फ्याँकेको फोहोर जलाउँदा सल्केको डढेलोले वन क्षेत्र विनास हुनुका साथै जंगली जनावरलाई प्रभावित पारेको थियो।’  

बाघको बासस्थान नजिकै फोहोर फ्याँकिदिँदा त्यसको दुर्गन्धले बाघ लगायत वन्यजन्तुलाई गम्भीर असर परिरहेको उनको भनाइ छ। ‘बाघ दुर्गन्धरहित ठाउँमा बस्ने जंगल जनावर भएको र त्यसलाई असर पर्नेगरी नगरपालकाले फ्याँकेको फोहोरले उसलाई प्रत्यक्ष असर परिरहेको छ,’ उनले भने,‘यसतर्फ नगरपालिकाले समयमै सोच्नुपर्ने बेला आएको छ।’  

गौरीगंगा नगरपालिकाको बढैपुर–राजीपुर वन क्षेत्र पछिल्लो समयमा वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा देखिएको बताउँदै वन वातावरणविद् तथा पूर्व डिएफओ रमेश चन्द ठकुरीले भने,‘सडक किनारमै त्यो पनि वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा देखिएको बढैपुर–राजीपुर क्षेत्रको जंगलमा जथाभावी फोहोर फ्याँकिनु गतल हो ।’ जंगलमा फ्याँकिएको फोहोरले मानव स्वास्थ्यलाई असर त पर्ने नै भयो, त्यो भन्दा पनि बढी वन्यजन्तुलाई असर परिरहेको उनले बताए। ‘जथाभावी फालिएको फोहोरले बाघ लगायत अन्य वन्यजन्तुलाई प्रत्यक्ष असर परिरहेको छ,’ उनले भने,‘त्यसलाई सही ढंगबाट जंगलबाहिर व्यवस्थापन गरिनुपर्छ।’ जंगलमा फोहोर फ्याँकिदिँदा वन्यजन्तुको स्वास्थ्यमा असर परेको भन्दै संरक्षणकर्मीहरुको बैठक तथा छलफलमा कुरा उठ्ने गरेको उनले बताए।    

वसन्ता जैविक मार्गसँग जोडिएको वसन्ता हरियाली सामुदायिक वन क्षेत्रमा नगरपालिकाले आफूखुसी बनाएको डम्पिङ साइटले वन्यजन्तुलाई असर पर्न थालेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताए। ‘सामुदायिक वन क्षेत्रमा आफूखुसी नगरपालिकाले डम्पिङ साइट बनाएर मापदण्डविपरीत काम गरेको छ,’ उनले भने,‘यो सरासर गतल हो।’ सामुदायिक वनमा फोहोरजन्य पदार्थ फाल्नै नपाइने बताउँदै उनले भने,‘हामीले पटक पटक नगरपालिकालाई त्यहाँबाट डम्पिङ साइट हटाउन बताए पनि नगरपालिकाले अटेर गरिरहेको छ।’  

जंगलमा जथाभावी फोहोर फालिँदा वसन्ता करिडोरको सहायक करिडोर रहेको सामुदायिक वनमा आइरहने पाटेबाघ, मृग, चित्तल, बँदेल, निलगाई तथा बाँदरलाई असर पर्ने गरेको उनी बताउँछन्। ‘यो वन क्षेत्रमा पाटेबाघ, मृग, चित्तल, निलगाई र बँदेल प्रसस्त छन्,’ उनले भने,‘जथाभावी फालिएको फोहोरले यी वन्यजन्तुलाई असर गरिरहेको छ।’ प्लाष्टिकजन्य पदार्थ खाँदा वन्यजन्तुहरू बिरामी पर्ने गरेको पनि उनले बताए।  

‘फोहोरमा मिसिएका प्लाष्टिकजन्य पदार्थ यत्रतत्र छरिएका छन्,’ उनले भने,‘त्यही प्लाष्टिक खाएर वन्यजन्तु बिरामी पर्ने सम्भावना अत्याधिक छ।’ जंगलमा जथाभावी फोहोर फालिँदा वन्यजन्तुलाई असर पर्नुका साथै प्लाष्टिक तथा सिसाले जंगल कुरुप बन्न थालेको पनि उनले बताए।  

गौरीगंगा नगरपालिकाका कार्यपालिका सदस्य तथा डम्पिङ साइट अध्ययन समिति संयोजक भक्त विश्वकर्माले आफूहरुले सिफारिस गरेको डम्पिङ साइटभन्दा बाहिर गएर नगरपालिकाले जंगलमा फोहोर फ्याक्दै आएको बताए। ‘हामीले अध्ययन अनुसन्धान गरेर खाली जमिन रहेको ठाउँमा व्यवस्थित रुपमा फोहोर राख्न सिफारिस गरेका थियौँ,’ उनले भने,‘तर, नगरपालिकाले हामीले सिफारिस गरेको ठाउँभन्दा बाहिर गएर बसन्ता जैविक मार्गको सहायक मार्गमा पर्ने हरियाली बसन्ता सामुदायिक वनमा फोहोर फ्याँक्न थाल्यो।’ जंगलमा फालिएको  फोहोरले वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असल पर्ने गरेको उनले बताए।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले हरियाली वसन्ता सामुदायिक वन क्षेत्रमा डम्पिङ गरिएको फोहोरले वन्यजन्तुलाई असर परेको कुरा स्वीकारे। उनले आफूलाई पनि त्यो मन नपरेको बताए। ‘व्यक्तिगत रुपमा भन्ने हो भने यसरी जंगलमा फोहोर फ्याँक्नु उचित हैन,’ उनले भने,‘त्यो पनि बाघ हिँड्ने बाटोमा झनै राम्रो भएन।’ सामुदायिक वनमा फ्याँकिएको फोहोरका विषयमा पटक पटक कार्यपालिका बैठकमा कुरा उठ्ने गरेको छ बताउँदै उनले भने,‘अब हामी त्यसको व्यवस्थापनका लागि काम गर्ने सोचमा छौँ।’

प्रकाशित: ७ आश्विन २०७८ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App