१ आश्विन २०७८ शुक्रबार
समाज

‘व्यापारीको कब्जामा फुटपाथ’

नेपालगन्जस्थित न्यूरोडमा फुटपाथमै राखिएको घर निर्माणका सामग्री । तस्विरः गणेश/नागरिक

शारीरिक रूपमा अशक्त खजुराका ३२ वर्षीय धुव्रराज चौधरी सोमबार चर्काे गर्मी छिचाल्दै गन्तव्यतिर हिँड्दै थिए। जब घर्सिँदै पुष्पलाल चोक नजिकै पुग्छन् अनि उनको यात्रा रोकिन्छ।

कारण, ‘फुटपाथभरि यत्रतत्र छरिएका सामान र पार्किङ।’ फुटपाथभरि राखिएका सामान र पार्किङमा राखिएका मोटरसाइकल पार गर्न नसक्दा उनलाई असहजता मात्र भएन समयमै गन्तव्यमा पनि पुग्न सकेनन्। अरू कोही आएर त्यहीनेरबाट सारिदिए पछि खुसी हुँदै भन्छन्, ‘धन्यवाद सर।’ यो दृश्यले उनी मात्र होइन फुटपाथमा दैनिक आवतजावत गर्ने पैदलयात्रीको सास्तीलाई उजागर गर्छ।

उनका लागि यो समस्या कुनै नौलो होइन, जबजब उनी बजार निस्कन्छन् तबतब यो समस्या ठाउँठाउँमा दोहोरिन्छ। फुटपाथभरि दुई पांग्रे सवारीसाधन पार्किङ गर्दा, व्यापारीले सामान तथा निर्माण सामग्री मनलाग्दी राख्दा उनीजस्तै अपांगता भएका व्यक्ति र अन्य पैदलयात्रीलाई हिँड्डुलमा असहजतासँगै जोखिम पनि बढाएको छ। 

यत्रतत्र राखिएका सामानले हैरानी खेप्नु परेको सर्वसाधारणहरूको गुनासो छ। ‘दुवै खुट्टा र एउटा हात नचल्दा म सधैँ फुटपाथमा आएर पैसा सहयोग माग्छु,’ धुव्रराजले भने, ‘कहिले कता कहिले कता बस्छु।’ हिड्न नसक्दा आफू एक ठाउँबाट अर्काे ठाउँ घर्सिएरै जाने गरेको भन्दै उनले भने, ‘फुटपाथभरि सामान हुन्छन्। अनि मोटरसाइकल पार्किङ गरेर राखिएको हुन्छ। जसले सधैँ समस्या हुन्छ।’ सडकभरि गाडी र अव्यवस्थित पार्किङले घर्सिन नसकिने र फुटपाथ पनि आफू अनुकूल नभएको उनको भनाइ छ।  

नेपालगन्जमा बढ्दो सहरीकरणसँगै सर्वसाधारणको बाक्लो चहलपहल देखिन्छ। तर सरोकारवाला निकायले फुटपाथलाई व्यवस्थित गर्न सकेको देखिँदैन। ‘अपांगता भएका व्यक्तिलाई त ठूलो जोखिम छँदैछ,’ नेपालगन्जकी सावित्री खड्काले भनिन्, ‘सपांगलाई पनि फुटपाथमा आवतजावत गर्न जोखिम छ।’ सडकमा हिँडौं दुर्घटनाको जोखिम भएको भन्दै उनले भनिन्, ‘फुटपाथमा पनि हिँड्ने ठाउँ हुँदैन।’ नेपालगन्ज–सुर्खेत रोड, न्यूरोड, सदरलाइनलगायत नेपालगन्ज बजार क्षेत्रका अधिकांश फुटपाथमा पैदलयात्री सहजै हिँड्डुल गर्न सक्ने स्थित नभएको उनले बताइन्।

‘फुटपाथ त हामी पैदलयात्रीका लागि हो, तर पार्किङ र व्यापारीको सामानले भरिभराउ हुन्छ,’ मञ्जुसिंह राठौरले भनिन्, ‘फुटपाथमै हिँडूँ बाटो छैन, सडक छेउमा हिँडूँ ठूलो गाडी कतिबेला हुइँकिएर आएर किचेर मार्ला भन्ने डर।’ ‘फुटपाथ कब्जा गरी नियम उल्लंघन गर्नेलाई कारबाही हुनुपर्ने,’ उनले भनिन्।‘नियम उल्लघंन गर्नेलाई कारबाही नहुँदा फुटपाथ कब्जामा छ,’ उनी भन्छिन्, ‘यता पैदलयात्रु भने सडकबाटै हिँड्न बाध्य। सडकमा हिँड्दै गर्दा दुर्घटना भए कसले जिम्मा लिने ?’ पैदलयात्रीहरूले यात्रा गर्दाका असहजता, जोखिमलाई प्रशासन र नगरले गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ।

नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी नियुक्ति गरेपछि नेपालगन्जका फुटपाथ तथा सडक व्यवस्थित गरेको थियो। पछिल्लो समय नगर र प्रशासनको अनुगमन नहुँदा फुटपाथ पार्किङ तथा सामानले ओगट्दा पैदलयात्रीहरूलाई यात्रा गर्न झनै जोखिम बढाएको छ।

नेपाल सडक मापदण्ड २०७० ले पैदलयात्रुको चापअनुसार फुटपाथको चौडाइ निर्धारण गरेको छ। १५ मिनेटभित्र पाँच सयजनासम्म आवतजावत गर्ने फुटपाथमा १.५ मिटर, पाँच सयदेखि १५ सयजना हिँड्ने ठाउँमा दुई मिटर, १५ सयदेखि २५ सयजना हिँड्ने ठाउँमा २.५ मिटर र २५ सयदेखि ३५ सयजनासम्मको चाप भए तीन मिटर चौडाइको फुटपाथ बनाउनुपर्ने व्यवस्था छ।

फुटपाथ कब्जा गरेर व्यापारीहरूले मनलाग्दी सामान राख्दा सरोकारवाला निकाय नेपालगन्ज उपमहानगरपालिका, प्रशासन र प्रहरी भने मौन बनेका छन्। सरोकारवाला निकायले देखे पनि नदेखेझै गर्दा यात्रुहरूलाई हिँड्डुलमा सास्ती भएको बताइएको छ।

प्रकाशित: ३० भाद्र २०७८ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App