१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बढे सम्बन्ध विच्छेदका मुद्दा

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो। नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि मुद्दाको संख्या बढ्दै गएको हो।

अदालतको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएका छन्। अदालत अनुसार गत आव २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। बिगत डेढ वर्षदेखि कोरोनाले गर्दा जनजीवन प्रभावित भए पनि सम्बन्ध विच्छेदका मुद्दामा भने कमी आएको छैन। 

अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन्। घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढ्दै गएको छ। महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरु अदालतसम्म पुग्ने गरेका छन्। अधिकांसको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेको छ। अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन्। कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको हो।

अधिकांस प्रेम विवाह गरेकाहरु नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ। ‘केटाले बाँड्ने ठूल्ठूला सपना पूरा नहुँदा समस्या बढी रहेको छ,’ अधिवक्ता चक्रबहादुर क्षेत्रीले भने, ‘युवा अवस्थामा केटाकेटि यर्थात भन्दा भावनामा बग्छन्।’ जुन कुरापछि पूरा नहुँदा पारिवारिक वेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढ्दो छ। ‘लहलहैमा विवाह गर्ने संख्या बढ्दो छ,’ अधिवक्ता क्षेत्रीले भने, 'कलिलोमा विवाह गर्‍यो बुझ्ने भएपछि धेरै कुरामा असमझदारी हुन्छ। किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढ्ने गरेको छ। त्यसपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन्। 

मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिवी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी थप्छन्। अदालतले सकेसम्म पतीपत्नीबीच मेलमिलापको पहल गर्छ अदालतका श्रेष्तेदार हिरन्य भण्डारीले भने त्यहाबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ। सम्बन्ध विच्छेदका लागि बढी महिला आउने गरेका छन्। तर नयाँ मुलुकी संहिता लागु भएपछि पुरुषहरुले पनि सम्बन्ध विच्छेदको मुद्दा दिने बढेका छन्।

‘श्रीमान रोजगारीका लागि विदेसिन्छन्,' अदालतका भन्डारीले भने, 'उनीहरुले पठाएको रेमिटान्स जथाभावी खर्च गरेर तडकभडक देखाउँदै दुरुपयोग गरेका कारण पनि सम्बन्ध विच्छेद बढ्दै गएको छ। आधुनिक फेसनशैली र रहनसहनको विकृति पनि हो उनले भने यसले श्रीमान श्रीमतीको सम्बन्ध विग्रँदा अदालत ढोका घच्घचाउने बढ्दो छन्।’ 

घर परिवारमा शरीरिक तथा मानसिक यातना पाएका, चरम यौन शोषण दाईजो र नपुंशकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन्। अन्तरजातीय प्रेम विवाह पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७८ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App