४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

आज ऋषिपञ्चमी मनाइँदै

नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइ सकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ। आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका सकिनेछ।

हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको छ। नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका ‘पाप’हरूबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा छ। शास्त्रमा भनिएको ‘पाप’लाई आधुनिक समयमा भने ‘गलत क्रियाकलाप’का अर्थमा पनि बुझिने गरेको छ।

आधुनिक समयमा रजस्वलालाई स्वाभाविक जैविक प्रक्रियाका रूपमा मानिरहेका भए पनि शास्त्रीय मान्यतामा विश्वास गर्नेहरूले भने अझै ‘पाप’का रूपमा नै बुझिरहेका छन्। र, शास्त्रहरूमा पनि रजस्वलालाई नराम्रो कुराकै रूपमा अर्थ्याइएका कारण अझै पनि हाम्रो समाजका नारीहरू पीडित भइरहेका पनि छन्। तर, परम्परा र रीतिलाई जोगाउँदै नकारात्मक कुराहरू त्याग गर्दै राम्रा कुरालाई निरन्तरता दिनु उपयुक्त हुने समाजास्त्रीहरूको मत रहिआएको छ।

यस्तो छ कथा

श्रीमद्भागवत, गरुड पुराणलगायत अन्य पुराणहरूमा लेखिएअनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकाले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। 

पौराणिक प्रसंगअनुसार इन्द्रले त्वष्टा ऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड बेहोर्नुपर्‍यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो, (१) अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), (२) नदी (वर्षाकालको गाँज र मैलोयुक्त पानी), (३) पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र (४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)। 

अतः मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति महिलाहरूले ऋषिपञ्चमीको यो व्रत लिनुपर्ने बताइएको छ।

के गरिन्छ ऋषिपञ्चमीमा ?

ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुन्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान, दक्षिणा आदि दिने प्रचलन छ। 

कतैकतै भने तीजको दिनदेखि ब्रत बसेर पूजा गरी, चतुर्थीको दिन पनि ब्रत बसेर ऋषिपन्चमीको दिन ब्राह्मण बोलाई वा समूहमा जम्मा भई विधिपूर्वक अरुन्धतीसहित सप्तऋषिहरूको पूजा गरी गुरु पुरोहितहरुद्वारा तीजको कथा, चौथी दोषको कथा र ऋषिपञ्चमीको कथा श्रवण गर्ने चलन छ। 

व्रत लिनेले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातै जना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपुर आदि लगाउनुपर्छ, पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवित, नैवेद्यादिद्वारा पूजा गर्नुपर्छ र मन्त्रसहित अर्घ दिनुपर्छ।

यस व्रतमा सागपातको मात्र प्रयोग गर्ने विधान छ र ब्रह्मचर्यको पालन गर्न अनिवार्य मानिएको छ । यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक, तीनै किसिमका दुःखबाट मुक्ति हुने विश्वास गरिन्छ।

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन्। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजो दोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास छ।

प्रकाशित: २६ भाद्र २०७८ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App