coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सेनाको कमान्ड शर्माको काँधमा

नेपाली सेनाको कमान्ड बिहीबारदेखि प्रभुराम शर्माले सम्हालेका छन्। प्रधानसेनापतिका रूपमा तीन वर्षे कार्यकाल पूरा गरी पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाएसँगै शर्मा प्रधानसेनापति बनेका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्दै प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।  

नवनियुक्त प्रधान सेनापतिलाई सैनिक परम्पराअनुसार जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसलगत्तै उनले कार्यभार सम्हालेका थिए।  

२०२० पुस ९ गते काठमाडौंको सीतापाइलामा जन्मिएका शर्मा २०४० सालमा सहायक सेनानीबाट सैनिक सेवामा प्रवेश गरेका हुन्। उनले संयुक्त राज्य अमेरिकाबाट सैनिक प्रहरी एड्भान्स तालिम, नेपाली सैनिक वार कलेज नगरकोटबाट गुल्मपति तथा स्टाफ तालिम, सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीबाट कमान्ड तथा स्टाफ तालिम र भारतबाट नेसनल डिफेन्स कोर्स पूरा गरेका छन्। उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र सन् २०१४ मा भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल उपाधि हासिल गरेका थिए ।

शर्माले भैरव गुल्म (अनाश्रित), पुरानो गोरख गण, नं. ३ र ६ पदिक बाहिनी तथा मध्य पृतनाको कमान्ड सम्हाल्नुका साथै बाहिनी सेनानी, पृतना अपरेसन अधिकृत, सैनिक सचिव, भर्ना छनोट निर्देशक, स्टाफ ड्युटिज, नीति तथा योजना निर्देशक, सहबलाध्यक्ष, युद्धकार्य महानिर्देशक, सम्भाररथी महानिर्देशक र बलाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन्।

महारथी शर्माले सन् २००१ मा पूर्वी टिमोरस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा नारायण दल गुल्म र सन् २००४ मा कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पुरानो गोरख गणको नेतृत्व गरेका थिए। उनी सन् २००८ देखि २०११ सम्म बंगलादेशको राजधानी ढाकास्थित नेपाली राजदूतावासमा सैनिक सहचारीका रूपमा सेवारत थिए।  

प्रकाशित: २५ भाद्र २०७८ ००:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App