विराटनगरको एक होटलमा प्रेमिकाले प्रेमीको लिङ्ग काटिदिएको घटना सार्वजनिक भएको छ। प्रेममा धोका दिएको भन्दै प्रेमिकाले प्रेमीको लिङ्ग काटिदिएकी हुन्। विराटनगर–१५ रानीस्थित होटल मकालुमा उक्त घटना भएको हो। सुनसरी घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षीय प्रेमीको लिङ्ग काटिदिएको मोरङ प्रहरीले जनाएको छ।
होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले युवकको लिङ्ग कैंचीले काटिदिएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले बताए। कामको सिलसिलामा विराटनगर बस्दै आएकी युवती नेपाल प्रहरीमा कार्यरत युवकसँग प्रेम सम्बन्धमा थिइन्। तर, एकाएक युवकले अर्कै केटीसँग विवाह गर्ने तयारी गरेपछि सम्बन्ध धमिलो बन्दै गएको थियो। युवकको विवाह आउँदो मंसिरमा हुने चर्चा भएपछि युवतीसँग टाढिन थालेका थिए।
लामो समयसम्म युवक सम्पर्कविहीन भएका थिए। प्रेमी टाढिन थालेपछि प्रेमिकाले नयाँ मोबाइल नम्बरबाट फोन गरेर अन्तिमपटक भेट्न अनुरोध गरिन्। युवतीको अनुरोध स्वीकार गर्दै युवक पनि उनलाई भेट्न आए।
युवतीले नयाँ नम्बरबाट साउन २७ गते फोन गरिन् र होटल मकालुमा भेट्ने सहमति भयो। होटल बाहिर दुवै जनाको भेट भएपछि त्यहाँ आइसक्रिम र बिस्कुट खाँदै गफिए। त्यसपछि उनीहरु होटलको कोठामा पुगेपछि युवकले यौन सम्र्पक गर्न खोज्दा युवतीले प्रतिकार गर्दै लिङ्गमा कैंची प्रहार गरिन्।
प्रेमिकाले प्रेमीको लिङ्गमा कैंची प्रहार गर्दा काटिएपछि घाइते भई तत्काल उपचारका लागि कोशी अस्पताल गएका थिए। युवकको काटिएको लिङ्गको थप उपचारका लागि कोसीले नोबेल शिक्षण अस्पतालमा रेफर गरेको थियो। युवकको लिङ्गमा १० टाँचा लगाएपछि लिङ्ग जोडिएको जनाएको छ। ‘घटनामा भएको २÷३ दिनपछि युवतीले प्रेमीविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा ‘जबरजस्ती करणी उद्योग’मा जाहेरी दिएकी थिइन्,’ डिएसपी श्रेष्ठले भने, ‘ती युवक त्यही कार्यालयमा कार्यरत रहेकाले पक्राउ गरिएको छ। घटनाको अनुसन्धान पूरा भई अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पठाइ सकिएको छ।’ उनका अनुसार घटनामा संलग्न भएको आरोप लागेका प्रहरी कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाहीका लागि अनुसन्धान भइरहेको छ।
प्रकाशित: २४ भाद्र २०७८ १२:५६ बिहीबार




-600x400.jpg)
