७ वैशाख २०८१ शुक्रबार
समाज

माडर भन्सार नाका : बिरामीलाई रोक, तस्करलाई खुल्ला

सिरहा नगरपालिका–४ कि एक महिला माडर भन्सार कार्यालयका सशस्त्र प्रहरीले ढाट नखुलाईदिँदा उपचार अभावमा प्राण त्यागेकी छन्। आफन्तको विवाहमा सहभागी भई भारतको गोरखपुरबाट फर्किने क्रममा बिरामी परेकी ४० वर्षीया बहिदा खातुनले बिहीबार बिहान साढे तीन बजे माडर भन्सार कार्यलय नजिक प्राण त्यागेकी हुन्।

भारतको गोरखपुरस्थित झन्डानगरबाट आफन्तको विवाहमा सहभागी हुन खातुन परिवार माडर नाकाबाटै एक साताअघि गएकी थिइन्। मधुमेह र उच्च रक्तचापका बिरामी खातुन घर फर्किने क्रममा बिरामी परिन्। पारीको सहर जयनगर आइपुग्दा सिकिस्त भइन्। उनको साथमा रहेकी छोरी बरिदा खातुनले मामा नुरे आलमलाई फोन गरिन्। नुरे आलमले भने, ‘राती अढाई बजे एम्बुलेन्स खोज्दा नभेटेपछि दुई वटा टेम्पो लिएर माडरको ढाट नजिक पुगे। भन्सार नाकामा ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई घटनाक्रम सुनाएर टेम्पो लिएर जान दिन बिन्ती गरे उनले भने, ‘जति बिन्ती गरेपनि सशस्त्र प्रहरीले टेम्पो लिएर जान दिएन।’

‘घरी म बिन्ती गर्थें, घरी मेरो भाइ कमरे आलम र भिनाजु मोहम्मद ईशा तर सशस्त्र प्रहरीका ड्युटी इन्चार्ज कसैको बिन्ती सुन्नुभएन’, नुरेले भने, ‘कुनै सीप नलागेपछि पैदलै हामी नेपालको सरहद(सीमा) पुग्यौं। त्यहाँ भारतीय नम्बरको टेम्पोमा दिदी आएको थियो। उहाँको वजन अलिक भारी भएकोले हामी काँधमा बोक्दै राख्दै भन्सारको ढाटसम्म ल्यायौं।’ उनी थप्छन्, ‘अब त ढाट खोलाइदिनुस् भन्दै फेरि सशस्त्र प्रहरीलाई गुहारे तर सुनेनन्।’ काँधमै बोकेर वारिको टेम्पोमा पुर्याउँदा उहाँको मुटुको चाल बन्द भैसकेको थियो। भुँइमा राखेर पानी छर्केर होस फर्काउन खोजँ,े तर उहाँको शरिरमा कुनै हलचल थिएन’, उनी भन्छन्, ‘सशस्त्र प्रहरीले समयमै ढाट खोल्न लगाइदिएको भए दिदीको प्राण बच्थ्यो।’

मृतकका भाइ कमरे आलम भन्छन्, ‘बिरामी ल्याउन नेपालको सरहदसम्म टेम्पो लग्न नदिने सशस्त्र प्रहरीले सोही समय मालसामानको पहाड बोकेको मोटरसाइकललाई धमाधमभित्र छिराइ रहेका थिए। हामीले भिडियो खिच्न लाग्दा बिना हेलमेट र नम्बर नलेखिएका मोटरसाइकल पछाडि मालसामानको पहाड बोकेकाहरु मोटरसाइकल भगाएका थिए।’

‘बिरामीलाई रोक्ने तर तस्कर व्यपारीलाई छिराउने यो कस्तो नियम हो’, कमरेले भने, ‘यो घटनाको निष्पक्ष र उच्चस्तरीय छानविन गरी दोषीमाथि कारबाही हुनुपर्छ। हामीलाई न्याय चाहियो’, उनले भने, ‘आफ्नो सीमासम्म पनि जान रोक्नेमाथि कारबाही हुनुपर्छ।’

यो घटनाले सिरहाका सशस्त्र प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई छानविनको घेरामा मात्र ल्याएको छैन, गृह प्रशासनलाई समेत गिज्याएको छ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् 

प्रकाशित: २४ भाद्र २०७८ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App