भगवान् रुपी अवतार। पहिरन सबै पहेँलो अनि गोरो अनुहार। नेपालगन्जका गल्लीगल्ली देखिने यो अनुहार बजार खुल्नासाथ पसलपसल पुग्छ। थोरै मदिरा सेवन गरेको जस्तो देखिने उनी बुधबार दिउँसो त्रिभुवनचोक नजिकै पसलमा पुग्छन् र भन्छन्, ‘जय भोले। बालीके भगवानकाे आशिर्वाद छ।’ ‘राधेरोधे’ लेखिएका पुराना देखिने कपडा लगाएका अध्वैशे युवक अनुमतिबिनै पसल सञ्चालक विकास खत्रीलाई टीका पनि लगाइदिन्छन्।
पसलमै आएर टीका लगाइदिएका ति युवालाई उनले १० रुपैयाँ दिन्छन्। तर भगवान् रूपी पहिरणमा आएका ति अध्वैशे युवाले तोकेरै पैसा माग्छन्। उनी को हुन् तर ‘जय भोले’ भन्दै सर्वसाधारणदेखि व्यापारीसम्म पुगेर पैसा ‘असुल्छन्’। भगवानकाे पहिरनमा आएका उनी नयाँ र नौला भने होइनन्, पछिल्लो समय नेपालगन्जमा मगन्तेहरुले आफ्नो रुप बदल्दै पैसा असुल्न (माग्न) थालेका छन्।
भगवानकाे नाम पुकार्दै पसलपसल जाँदा प्रायःले पैसा दिने हुँदा उनीहरु आफ्नो भेष बदल्ने गर्छन्। भगवानकाे भेषमा पुग्ने उनीहरुले आफ्नो सही नाम र ठेगाना भने बताउँदैनन्। प्रायःले आफू भारतबाट आएको बताउँछन्। भारतको लखनउ घर बताउने अहिमले आफू भगवानकाे चेला भएको बताए। ‘म भगवानकाे चेला हुँ,’ उनले भने, ‘मलाई दान दक्षिणा दिनु भगवानलाई दिएजस्तै हो।’
यसरी टोलटोल र पसलपसल पुग्नेहरुले सर्वसाधारणसँगै व्यापारीलाई हैरानी बनाएका छन्। ‘दैनिक भगवानकाे नाम जप्दै ढोका आउनेलाई न रित्तो हात फर्काउन सकिन्छ, नत दैनिक पैसा बाड्न सकिन्छ,’ नेपालगन्जका व्यापारी रामदीप गुप्ताले भने, ‘नक्कली बाबाले हैरान बनाएका छन्।’ ‘बिहान पसलमा भगवानकाे नाम जप्दै। अगरबत्ती घुमाउँदै आउनुभयो,’ नेपालगन्जका व्यापारी सरला बिष्टले भनिन्, ‘भगवानका नाममा दक्षिण भन्दै पैसा लिनुभयो।’ ‘कुरै छोड्नु, पसल खोल्न पाएको छैन माग्न सुरू। त्यसमा पनि कम पैसाले मान्दैनन्,’ उनी भन्छिन्, ‘अशक्तलाई त दिनुपर्छ, दिन्छौं तर अनाथ, अशक्तको लागि भनेर राम्रो मान्छे ठेली नै ल्याएर आउँछन्।’ ‘साँच्चिकै यिनिहरूले अनाथ, अशक्तलाई नै दिन्छन होला त?,’ उनले प्रश्न गरिन्।
प्रकाश श्रेष्ठले सामाजिक सञ्जालमै आफ्नो दुखेसो पोखेका छन्। ‘नेपालगन्जमा माग्नेको आतंक पूरै भारतीय बजार गएको जस्तो अनुभव भयो,’ उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘नगरपालिकाले केही सोच्नु पर्यो।’ बेदध्रुव ढकालले हप्ताहप्तामा एउटै मान्छे भेष बदलेर आउने गरेको प्रतिक्रिया दिए।
बिहान कारोबार नै सुरु भएको हुँदैन भगवान् रुपी अवतार गरेर माग्न आउँछन् भन्दै सुर्खेत घर भइ नेपालगन्जमा होटेल व्यवसाय गर्ने कृष्ण खत्रीले भने, ‘दिम भने व्यापारै भएको हुँदैन। नदिम् भने भगवानकाे नाम पुकार्दै आएका हुन्छन्।’ जबरजस्ती टीका लगाइदिँदै पैसा उठाउने गरेको उनको भनाइ छ। आफ्नो स्वइच्छाले भन्दा उनीहरुले तोकेको रकम दिनुपर्ने उनी बताउँछन्। भगवानकाे भेषमा दिनभरि उठाएको पैसा कतिपयले साँझ मदिरामा खर्च गर्ने गरेको बताइन्छ। ‘कतिलाई पैसा दिएर पठायो,’ उनले भने, ‘अलि पर गएर रक्सी खाइहाल्छन्।’ केही त रक्सी खाएरै भगवानकाे नाम जब्दै माग्न आउने गरेको स्थानीयको भनाइ छ।
भगवानकाे नाम जप्दै पैसा असुल्ने कार्यले भगवानप्रतिको आस्थामा नकारात्मक सन्देश फैदा गरेको कतिपयको भनाइ छ। ‘माग्ने बाध्यता होला तर भगवानकै नाप जप्दै, गलत क्रियाकलाप गरेर माग्न हुँदैन,’ उनी भन्छन्, ‘सरोकारवाला निकाय यस्तो कार्य नियन्त्रण गर्न लाग्नुपर्छ।’ अनेक भेष बदलेर माग्नहरुले आफूहरुले हैरानी हेप्नु परेको यहाँका व्यापारी, सर्वसाधारणहरुको भनाइ छ। एउटै व्यक्ति हप्तामा भेष बदलेर पैसा माग्न आउने गरेको उनीहरुले बताए।
प्रकाशित: २४ भाद्र २०७८ ०५:१२ बिहीबार