८ वैशाख २०८१ शनिबार
समाज

एकै दिनकाे वर्षाले उपत्यकाका सडक जलमग्न

तस्बिरः माेनिका मल्ल/ नागरिक

आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भए। काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक जलमग्न भए।  

उपत्यकाका अरु धेरै ठाउँमा जमेको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सम्बन्धित स्थानिय सरकारकाले खुलाइरहेका छन्। भारी वर्षाका कारण खोला बढेकाले करिडोर जलमग्न भएको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। सडक विभागले सडक बनाउँदा छेउमा बनाउने ‘साइड ड्रेन’ सानो हुँदा सडकमै पानी जम्मा भएको हो। उनले भने, “त्यसलाई पानी जान सक्ने गरी बनाउँदा सडक डुब्न पाउँदैन।”

उपत्यकामा एकै दिन मात्रै वर्षा हुँदा पनि सडक जलमग्न हुने गरेको छ। सडकमा एक दुई फिटसम्म पानी हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो हुने गरेको छ। उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पसेको छ।

उपत्यकामा सुन्धारा, बालुवाटार, कुमारीपाटी, तीनकुनेलगायतका स्थानमा सवारीसाधन नै डुबिरहेको देख्न सकिन्छ। वाग्मती, विष्णुमती धोबीखोलालगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जम्ने गरेको छ।

उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ। भौतिक संरचना निर्माणको जिम्मेवारीको कुन निकायको हो भनी स्पष्ट भए पनि मर्मतको जिम्मेवारी कसको हो भनी अन्याेल हुँदा बर्सेनि यो समस्या दोहोरिरहेको हो। ढल प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा हुने र त्यसले सडक पानीले भरिने गरेको छ।

ढल जाम हुनेलगायत समस्या आउँदा केयुकेएलले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ। त्यसबाहेक सम्बन्धित महानगरपालिका र नगरपालिकाहरुले पनि आ–आफूसँग भएका उपकरणमार्फत सडक खुलाउने गर्छन्। कतिपय स्थानमा खोलाको क्षेत्र कम छाडेर संरचना बनाउँदा पनि खोला सडक र बस्तीसम्म पुग्ने गरेको छ।  

काठमाडौँ महानगरपालिकामा भीमसेनस्थान जाने पुलमा विष्णुमति थुनिएर खोला बाहिर बगेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। सो करिडोरको निर्माण महानगरपालिकाले गरिरहेको भए पनि कल्भर्ट पुल पहिले सडक विभागले बनाएको थियो। भीमसेनस्थानमा एक फिट माथिसम्म पनि खोलाको लेदो सडक र पेटीहरुमा रहेको छ।

उनले भने, “महानगरपालिकाले त्यो पन्छाउन पहल गरिरहेको छ।”ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको हो। विभागले खासगरी सङ्घीय सडकमा र स्थानीय सडकमा सम्बन्धित पालिकाहरुले ढल निर्माण गर्छन्। तीन तहका सरकार कसले ढल बनाएको छ भन्ने अर्कोलाई थाहा नहुँदा र ढलहरुबीचको जडानमा समस्या हुँदा सडक पानीले भरिने गरेको छ।  

स्थानीयवासी पनि कुन निकायलाई उजूरी गर्ने भन्नेमा अन्योलमा छन्। ललितपुर, इमाडोलका रमेश श्रेष्ठ यस क्षेत्रमा वर्षेनि पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको गुनासो गर्छन्। पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको छ। उनले भने, “तत्काल पानी हटाउने मात्रैभन्दा दीर्घकालीन रुपमा समस्या समाधान गर्न खाँचो छ।”

कुन सडकमा कसले ढल निर्माण गर्ने भन्ने नै स्पष्ट छैन। सडकका विषयमा आठ मिटर वा त्योभन्दा बढी चौडा सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ।  

कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गे नभएको पालिकाले बताउँदै आएका छन्। सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन्। स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन।

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ। ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो। पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समस्या हुने गरेको छ।  

मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजिकै ढल निर्माण गरिरहेको छ। मेलम्चीको पानीले ढलको समस्या अझै बढ्नसक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ। फोहरपानीको व्यवस्थापनका लागि निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। गुहेश्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो।

प्रकाशित: २१ भाद्र २०७८ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App