१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै श्रीलंका र गरैया टापुमा खतरा

सप्तकोशी नदीमा पानीको बहाब उच्च भएसँगै पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि पुगिने बस्ती आसपास निरन्तर कटान गर्ने क्रम बढ्दो छ। सप्तकोशी आइतबार साँझ ५ बजेको मापनअनुसार यस वर्षकै उच्च पानीको बहाव दुई लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।

मधेशको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाती पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास भएको श्रीलंका टापुमा कटान जारी रहेकाले प्रशासन कार्यालयले उच्च सर्तकता अपनाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार यसअघि नै पनि श्रीलंका टापु कटानबारे प्राविधिक टोलीको नेतृत्वमा घटना अध्ययन गर्न एउटा समिति तयार गरिएको थियो।

सोही समितिले दिएको प्रतिवेदनका आधारमा संघीय सरकारको ध्यानाकर्षण गराएर कटान रोक्न योजना बनाइने प्रजिअ ढकालले बताए। श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचमा अवस्थित छ। हिउँदमा दुवैतिरका लामालामा बलौटै बगरको बीचमा रहेको बस्ती वर्षामा मात्र पानीले घेरिन्छ र टापुको रुप धारणा गर्दछ।

यसैगरी, कोशीमा पानीको बहाव उच्च भएकोमा श्रीलंका टापु नजिकै रहेको अर्को गरैया टापुका केही परिवारलाई उद्दार गरिएको छ। पानीको बहाव निरन्तर बढेसँगै स्थानीयले बिहानै प्रशासनसमक्ष सम्पर्क राखेपछि जनपथ र सशस्त्र प्रहरीलाई गरैया टापुमा डुंगामार्फत् पठाएर उद्दार गरिएको प्रजिअ ढकालले बताए। ‘पानीको बहाव अरु बढ्दा गरैया र श्रीलंका टापुका बासिन्दालाई खतरा भएकाले गर्दा प्रहरीलाई उद्दारका लागि हाई अर्लटमा राखिएको छ,’ उनले भने।

श्रीलंका  र गरैया टापुको जीवनयापन कृषि र पशुपालनमा निर्भर छ। कोशीको बहावसँगै यहाँको जीवन र अर्थतन्त्र चलेको अनुभव हुन्छ। एक दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरु अहिले रुखो हुँदै गएका छन्।

पाँच दशकअघि कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु र गरैया टापु थिएनन्। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो। राजनीतिज्ञले टापुका बासिन्दालाई हरेक निर्वाचनताका आकर्षक आश्वासन दिएर भोट बैंकको रुपमा प्रयोग गर्दै आएका छन्।

प्रकाशित: १३ भाद्र २०७८ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App