१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खोलामा डुबेर वृद्धाको मृत्यु, करिब डेढ सय घर डुबानमा

कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको मृत्यु भएको हो।  

उनलाई स्थानीय चरेला खोलाले बगाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक भरत शाहले जानकारी दिए। उनका अनुसार खोलामा नुहाउने क्रममा थरुनी बगेर बेपत्ता भएकी थिईन। उनको शव झण्डै सात सय मिटर तल भेटिएको छ।  

त्यस्तै कैलालीकै जानकी गाउँपालिकामा बाढीले करिव डेढ सय घर डुबाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार वडा नं. ४ र ७ को बस्तीमा बाढी पसेको हो।  

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार वडा नं. ४ मा गिदरपुर, खरैला गाउँका ८० र वडा नं. ७ मा जवलपुर, शंकरपुर, मुनुवा गाउँका ५८ घर डुबानमा परेका छन। पालिकाका अन्य वडामा समेत थप केही घर डुबानमा परेका छन।  

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको टोली उद्दारका लागि पुगेको छ। उद्दार टोलीसँगै गाउँपालिका अध्यक्ष प्रदिप चौधरी समेत डुंगा चढेर प्रभावित क्षेत्रमा पुगेका छन। उनले टेलिफोन सम्पर्कमा स्थानीयका धेरै घर डुबे पनि सबैजना सुरक्षित स्थानमा सरेको बताए। ‘म सबैतिर पुगेको छु। सबैजना सुरक्षित हुनुहुन्छ’ उनले भने–‘खाद्यान्न लगायत भने बगाएको छ।’

कर्णाली नदी अन्र्तगतको कुलरीया कुला (नदी) मा आएको बाढी गाउँ पसेको हो। यहाँ वर्षेनी कुलरीया कुलाले बाढीको समस्या निम्त्याउने गरेको छ।  

उता कर्णाली नदीले टीकापुर नगरपालिका–५ शाहीपुरमा निरन्तर कटान जारी राखेको छ। नदीमा पानीको बहाव घटबढ भएसँगै किनार छेउको भूभाग तिब्र कटान भैरहेको छ।  

रानी जमरा कुलरीया सिँचाई आयोजना र स्थानीयले नदी कटान नियन्त्रणका लागि प्रयास गरिरहेका छन। नदीमा पानीको बहाव उच्च भएसँगै कटान नियन्त्रणको प्रयास विफल हुँदै गएको स्थानीय केशर रावलले बताए।  

आयोजनाले ठूल्ठूला ढुंगा र स्थानीयले बोरामा बालुवा भरेर नदी कटान नियन्त्रणको प्रयास गरिरहेका छन। नदीको बहावले ढुंगा र बालुवा भरेका बोरा बगाउन थालेपछि स्थानीय चिन्तित भैरहेका छन।जिल्ला प्रशासन कार्यालय कैलालीले नदी कटान तिब्र भएसँगै तटीय क्षेत्रका बासिन्दालाई सजग रहन अनुरोध गरेको छ।  

प्रकाशित: ११ भाद्र २०७८ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App