१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषध प्रकरणः महासंघको मिसन टोली रौतहटमा

नेपाल पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा आएको मिसन टोली ले स्थलगत रुपमा बिहीबार जानकारी लिँदै।

प्रहरी आफैले लागुऔषध राखी पत्रकारलाई फसाएको घटनाको छानबिनको लागि विभिन्न टोली बिहीबार रौतहट आइपुगेका छन्।  

घटनाको विषयमा नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोली र सरकारी संयन्त्रको उच्च स्तरीय छानबिन टोली रौतहट सदरकुमाम गौर आइपुगका हुन्।

स्थानीय पत्रकार मोहम्मद मोजिबुल्लाह र निजका सहयोगी गुलाव भन्ने अतिउल्लाहलाई घुमुवा प्रहरीका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह लगायतका केही व्यक्तिहरुको निर्देशनमा गत साउन ३२ गते गौर नपा १ स्थित ग्रिन सिग्नल होटल तल पार्किंग गरिएका मोटरसाइकलमा १०५ थान लागुऔषध नाइट्रोभेट राख्न लगाएर समातेको थियो।

घटना भएको ५ दिनपछि नेपाल पत्रकार महासंघले सिसिटिभी फुटेजबाट प्रहरीले नै फसाएको प्रमाण फेला पारेपछि घटनाबारे गहन अनुसन्धान गर्न टोली रौतहट आएका छन्।  

सिसिटिभी फुटेज र पत्रकार मोजिबुल्लाहलाई फसाउने कार्यमा संलग्न नेपाल पत्रकार महासंघका सह सचिव संजय सहनी र प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहबीच भएको संवादको अडियो रेकर्ड बाहिरिएपछि एसपी र डिएसपी नारायणप्रसाद चिमोरियाकै निर्देशनमा मोजिबुल्लाहलाई फसाएको महासंघ रौतहट शाखाको ठहर छ।

उक्त विषयलाई लिएर नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा मिसन टोलीले घटना प्रकरणमा विस्तृत अध्ययन तथा अनुसन्धान सुरु गरेका छन्। उपाध्यक्षसंगै महासचिव रोशन पुरी, सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु शिवबहादुर पुरी, इकवाल अहमद, अमर खड्का र भिषण राईसहितको टोलीले नेपाल पत्रकार महासंघ रौतहट शाखामा पीडित पत्रकार मोजिबुल्लाहलाई बोलाएर घटना सम्बन्धमा जानकारी लिए।  

टोलीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसंग भेटघाट गर्दै पत्रकार सुरक्षा र हालको घटना निष्पक्ष रुपमा छानबिन हुनुपर्ने लगायतका विषयमा कुरा गरेको केन्द्रीय सदस्य शिवबहादुर पुरीले बताए।

यस्तै पत्रकारलाई लागुऔषध राखेर प्रहरीले नै फसाएको कार्य प्रति राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को टोलीले विभिन्न निकायसंग घटना विषयमा जानकारी लिएका छन्। आयोगका प्रमुख अनुसन्धान अधिकृत विरबहादुर राईको नेतृत्वमा आएको टोलीले पीडित मोजिबुल्लाह, महासंघको अध्यक्ष प्रेमचन्द्र झासहितका पदाधिकारी एवं क्रियाशिल पत्रकाहरु र सुरक्षाकर्मीहरुसंग भेटघाट गरी घटनाबारे जानकारी लिँदै वास्तविकता पत्ता लगाउन सुरु गरेको छ।  

एसपी शाहको संलग्ता रहेको अडियो रेकर्ड बाहिरिएपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले शाहको जिम्मेवारीबाट हटाएर हेडक्वाटरमा तानी प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण महतको अध्यक्षतामा गठित चार सदस्यीय छानबिन टोली रौतहट आइपुगेको छ। टोलीले जिल्ला प्रहरी कार्यालय लगायतका घटनासंग जोडिएका विभिन्न व्यक्तिहरुसंग भेटघाट गरी अनुसन्धान सुरु गरिएको बुझिएको छ।

प्रकाशित: १० भाद्र २०७८ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App