१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहट लागुऔषध प्रकरणः एसपी प्रधान कार्यालय तानिए

पत्रकारलाई लागुऔषध मुद्दामा फसाइएको घटना बाहिरिएपछि रौतहटका एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो।

प्रदेश २ प्रहरी प्रमुख डीआजी उमेश रञ्जीतकारका अनुसार प्रधान कार्यालयले एसपी शाहलाई प्रशासन शाखामा हाजिर हुन भनेको छ। प्रधान कार्यालयले शाहको स्थानमा नयाँ एसपी पठाउँछ। यस घटनाको छानबिन तथा अनुसन्धानका प्रधान कार्यालयले गरिरहेको उनले बताए।

रौतहट जिल्ला गौर स्थित पत्रकार मोजिबुल्लाहलाई फसाउन उनको मोटरसाईकलमा लागुऔषध राखिएको घटनामा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बनमा परिसकेका छन्। यस घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहको समेत संलग्नता आशंका गरिएपछि उनी प्रहरी प्रधान कार्यालय तानिएका हुन्।  

एसपी शाहले यो घटना लगतै घटनाका आरोपित पत्रकार संजय सहनीसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनी शंकाको घेरामा परेका हुन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहमाथि अनुसन्धान गर्न माग गरेको छ।  

गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा  लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। यसै आधारमा प्रहरीले मजिबुल्लालाई पक्राउ गरेको थियो। तर घटनामा उनको संलग्नता नभई पत्रकार संजय सहनीले दुई जना प्रहरीलाई प्रयोग गरी उक्त घटना गराएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि पत्रकार मजिबुल्लाहलाई सोमबार छाडिएको थियो।  

एसपी शाह र पत्रकार सहनीबीचको कुराकानी

एसपी शाहले हेलो भनेपछि पत्रकार सहनीले सर नमस्ते फकाउँदै सम्वाद अगाडि बढाउँछन्। कता हो संजयजी? गौरमै सर। एक्लै हो? हो सर, एक्लै हो। एसपी शाह (हाँस्दै) भन्छन्, ‘हिजो काम त भो नि त। हैन?’ हजुर सर, भइहाल्छ नि सर भइहाल्छ। औकातभन्दा बढी मान्छे हुनुहुँदैन।' एसपी शाह भन्छन्, 'ठीक छ।' सरलाई कसले फोन गर्नुभएको थियो? ए हैन, तत्कालै त्यो असईले मलाई फोन गरेको थियो नि। पत्रकार सहनीले जवाफ फर्काए, ए ए! जे होस् हजुरको दूतहरु राम्रो छ एकदम। एसपी साह भन्छन्, 'अहिले काम गर्‍यो राम्रो भयो। जसको अहितमा काम गर्‍यो उसले नराम्रो भन्न थालिहाल्छ नि।'

यो सम्वाद सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एसपी शाह शंकाको घेरामा परेका हुन्।

प्रकाशित: ८ भाद्र २०७८ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App