कहिले पहिरोले झ्याप्पै छेक्छ त कहिले लेदो माटोले। पानी पर्यो की पहिरो खस्न थालिहाल्छ। सडक हिलाम्मे बनिहाल्छ। अनि सवारी आवागमन ठप्प बन्छ। हरेक वर्षायाम सुरु भएदेखि नै सडकको स्वरुप फेरिने गरेको छ। त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडक, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड र मुग्लिन–नारायण सडकखण्ड यस वर्ष पहिरोले लथालिंग बन्यो। पानी पर्ने बित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको छ। कारण, सडक माथिबाट झरेको लेदो र पहिरो नै हो।
सडक डिभिजन भरतपुरको तथ्याङ्क अनुसार पृथ्वी राजमार्गसँग जोडिएर मात्रै ८३ वटा शाखा सडक खनिएका छन्। नारायणगढ सडकमा १२ ओटा शाखा सडक छन्। पछिल्लो समय राजमार्ग विग्रिनुको कारण राजमार्गसँग जोडेर खनिएरका शाखा सडक नै हुन्। पछिल्ला वर्षहरुमा निर्माण भएका ग्रामीण सडक दिगो नहुदाँ त्यसको असर वर्षायाममा राजमार्गमा देखिएको जानकारहरु बताउँछन्। पृथ्वी राजमार्ग मात्रै होइन, त्रिभुवन, अरनिको र सिद्धार्थ राजमार्गमा पनि यो समस्या छ। यात्रामा निस्किदा पनि बाटो सम्झेरै झस्किनु पर्ने अवस्था सिर्जना भएको स्थानीयको भनाई छ।
पृथ्वी राजमार्गमा यो वर्ष मात्रै दर्जन भन्दा बढि सवारी पहिरोले पुरिसकेको छ। धादिङको जोगिमारा क्षेत्र र चितवनको चारकिलो र कालिखोला क्षेत्रमा हरेक वर्ष दर्जन भन्दा बढी गाडी पुरिने गरेको छ। तर, सडक माथीबाट झरेको पहिरोले हालसम्म कति सवारीमा क्षति पुग्यो त्यसको यकिन तथ्याङ्क भेटिदैन। स्थानीयका अनुसार गएको तीन दशकमा करीब एक दर्जन गाडीहरु त्रिशूलीमा खसेर बेपत्ता भएका छन्। सडक माथीबाट मात्रै होइन, सडकको तल्लो भागबाट पहिरो झरेर र पानीले खोलिएर पनि थुप्रै ठाउँमा सडक नै भासिएका छन्।
बिग्रिएपछि मात्रै बनाउने र निर्माणका क्रममा भविष्यमा समस्या आउँछ भनेर सोच्दै नसोच्ने प्रवृत्तिका कारण सडकहरु सुरक्षित बन्न नसकेको पूर्व डि.ई अर्थात भुगर्भविद् नरेशमान शाक्य बताउँछन्। ‘स्थानीय तह लागु भएपछि गाउँ गाउँमा सडक लागे तर, व्यवस्थित बनाउनतिर ध्यान दिएनन्’, शाक्यले भने, ‘त्यही सडक खनेको ढुङ्गामाटो र त्यही सडकबाट जथाभावी बगेको पानी राजमार्गमा आइपुग्यो।’ जथाभावी बगेको पानीले जमिन कटान गर्ने र त्यही लेदोमाटोले राजमार्गमा थुप्रिन आइपुगेको उनले बताए।
सडकको आडैमा बगिरहेका र पुल बनाएर ‘क्रस हुने नदी, खोला र नालामा पानी नियन्त्रणको काम पनि योजना बनाएर हुने गरेको छैन। जसले गर्दा वर्षामा ठूलो भेल आउँदा त्यसले पुल र कल्भर्टमा सिधै क्षति पुर्याउने गरेको शाक्यको भनाई छ। पहिरोनै नझरी सडकका दायाँबायाँ नयाँ पर्खाल लगाएको रेकर्ड कमै मात्र छ। त्यसैले पनि राजमार्गहरुमा माथिबाट पहिरो खस्ने, सडकनै भासिने लगायतका समस्या आउने गरेको छ। ‘संवेदनशील भूवनोटबाट सडक लैजानु नेपालको समस्या हो, तर पूर्वसावधानी र तयारी गर्ने परिपाटी छैन’ उनले भने्, ‘सडक खन्दा र बनाउँदा खल्बलिएका भागलाई स्थिर बनाउन वैज्ञानिक प्रविधि प्रयोग नगर्नु मुल समस्या हो।’
प्राविधिकको परामर्श बिना नै खोलिएका सडकले पछिल्लो समय राजमार्गमा क्षति पुग्ने गरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। ‘मुग्लिनदेखि नौबिसेसम्मका मुख्य राजमार्गका अधिकांश क्षेत्रमा शाखा सडक विस्तार गरिएको छ, जसले गर्दा पानी पर्नासाथ ढुङगा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ’, खनालले भने, ‘पहिरो खस्नुमा ८० प्रतिशत शाखा सडक बिस्तारका कारण हो।’
भौगोलिक अध्ययन विना नै गरिएको संरचना निर्माण, सडक संजालले राजमार्गलाई नै क्षतविक्षद बनाउने गरेको छ। ‘ग्रामिण सडकहरु विना डिजाइन खनिएको छ, इन्जिनियरले नाप नक्सा बनाएकै भएपनि स्थानीय पहुँचवालाहरुको दवाव र प्रभावमा उनीहरुको स्वार्थअनुसार डिजाइन फेरिन्छन्’ बातावरण संरक्षण अभियन्ता उत्तम कँडेलले भने, ‘बर्खामा पुर्याएको क्षतिको हिसाव कहिल्यै हुँदैन तर बर्षेनि यति किलोमिटर बाटो खनियो भनेर प्रगतिको बेलिबिस्तार मात्रै गर्छन्।’
सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउँनुपर्ने व्यवस्था छ।
पहिरो नियन्त्रणमा ध्यान छैन
कतिपय खण्ड भत्किँदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माण गर्न सकेको छैन। वि.सं २०३१ सालमा खुलेको पृथ्वी राजमार्गको आवधिक मर्मत २०४९ सालमा भयो। तर, त्यतिबेला राजमार्गका सुरक्षात्मक पर्खालहरुको मर्मत भने भएन। राजमार्गमा खाल्डा टाल्ने काम भयो, खसेका सानातिना पहिरो रोकथाम गरियो। तर, सडकमाथिका भित्ता र तलका कान्ला जीर्ण हुँदै जाँदा पनि त्यसलाई बलियो बनाउने गरी अहिलेसम्म ठोस प्रयासहरु भएका छैनन्।
बनेका सडक सुरक्षित बनाउनेतिर कसैको ध्यान छैन। यसैकारण वर्षातमा सडकहरुमा हुने क्षतिको दर पनि वर्सेनि बढ्दो छ। सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजन इन्जिनियर बाबुराम सापकोटाका अनुसार काम नहुनुमा आर्थिक स्रोतको अभाव मुख्य कारण हो। तर, यही काम नगरिँदा हरेक वर्षातमा पृथ्वी राजमार्गले पहिरोको चपेटा भोग्नु परेको छ। ‘नेटिङ गरेर साना पहिरो रोकियो, ठूलो रोक्न सकिएन’ उनले भने, ‘जोखिम पहिचान गरिएका भन्दा यो वर्ष नयाँ नयाँ ठाउँमा पनि पहिरो झरिरहेको छ।’
मर्मतका नाममा सडकमा वर्षैंदेखि हरेक वर्ष पिचमाथि पिच थप्ने काम हुँदै आएको छ। तर, सडकलाई बाढी र पहिरोजस्ता जोखिमबाट जोगाउन भने ठूलो बजेट खर्च गरिएको छैन। विग्रिरहने संभावित ठाउँमा समेत नदि कटान, वाल निर्माण र रुख विरुवा लगाउने काम समेत गर्न नसकेको सडक डिभिजन भरतपुर अन्तर्गत गजुरी क्याम्पका कृष्ण बहादुर खड्काले बताए। राजमार्गमा भू–गर्वको अध्ययन गरेर सडकको माथि र मुनिका ‘स्लोभ’ भागलाई मजबुत राख्न ठोस योजना ल्याउनै सकेको छैन।
मुग्लिन–नारायणगढ सडक खण्डका केही स्थानमा स–साना र ढुङ्गा माटो खस्नबाट रोक्न नेट जाली हालिएको छ। तर, ठूला पहिरो रोक्ने वैज्ञानिक प्रविधिको प्रयोग गर्न सकेको छैन। बजेट अभावले नै ठूलो पहिरो रोकथामको काम गर्न नसकिएको ईन्जिनियर खड्काले बताए। ‘रड वेल्डिङ गरेर ठूला ढुङ्गा बाँध्न सकिए ठूला पहिरो पनि रोक्न सकिन्छ’ खड्काले भने, ‘त्यसको लागि ठूलो बजेट खर्च गर्ने स्रोत हुँदैन।’ उनका अनुसार सडक पिपलमोडदेखि नारायणगढसम्म पृथ्वी राजमार्ग मर्मतमा हरेक वर्ष कम्तिमा १२ करोड खर्च हुँदै आएको छ।
पहिरोको जोखिम भएका केही स्थानमा तारका जालीले बारेर ढुङ्गा राखिएको भएपनि त्यो उपाय पहिरो रोक्न प्रभावकारी भएको छैन। विज्ञहरुका अनुसार सडकसँगै जोडिएका भीरमा सामान्य बायो इन्जिनियरिङ र फेद पर्खाल निर्माण गरेर मात्र समस्या निराकरण हुँदैन।
प्रकाशित: ७ भाद्र २०७८ ०९:२७ सोमबार