१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनै पूर्णिमा पर्व: तीर्थस्नानमा डोल्पाका देवता

तीर्थस्नानमा लगिएका देवता। त्रिपुरासुन्दरी भगवती मन्दिरमा रक्षाबन्धन ग्रहण गर्दै भक्तजनहरु।

डोल्पामा विगतका वर्षहरु झै यस वर्ष पनि यहाँका देवीदेवताहरुलाई पवित्र धार्मिक तपो भूमिमा तीर्थस्नान गराइएको छ।

विशेषगरी, छलभवानीमष्टा, गल्लीभवानीमष्टा, बिजुलडाँडा, धामाघाडी, बाबिरो, कौवा देवतालगायत जिल्लाभरका विभिन्न स्थानीय तहमा रहेका मठमन्दिरमा रहेका र कुलाम्य देवताको रुपमा पूजाआजा गरिँदै आएका देवताहरुलाई तीर्थस्नान गराएर पवित्र बनाई पुन ल्याएर प्रतिस्थापन गरेर पूजाआजा गरिएको छ। तीर्थस्नानको क्रममा जिल्ला भित्र रहेका मुकुटेश्वर हिमाल पर्वत, खालीझरना, ताम्राबणी नदी, ब्यास रिषि, ब्यासगाड, जगदुल्लीभूमि लगायत जिल्ला बाहिरका विभिन्न मुक्तिनाथ, खप्तडबाबा कुटिर, पशुपतिनाथ, स्वर्गद्वारी लगायत भारतका गया काशीहरु जस्ता धार्मिक शक्ति केन्द्रका रुपमा रहेका स्थानहरुमा पुर्‍याएर तीर्थस्नानका साथ पवित्र गराएर ल्याउने परम्परा रहँदै आएको छ

तीर्थस्नानको लागि प्रस्थान गर्दा र जिल्ला भित्र्याउँदा स्थानीयले बाजागाजाका साथ फूलमाला अविर टिका लगाएर देवीदेवताका साथा जाने धामीझाँक्रीहरुलाई विदाई र स्वागत गर्ने गरिन्छ। यसअघिका वर्षमा नेपालको मुक्तिनाथ भारतको गयजी काशी जुम्लाको बुडु छायाछत्रनाथ लगायतका पवित्र तीर्थस्थलहरुमा पुगेर देवताहरुलाई स्नान गराएर पवित्र बनाई ल्याइने गरेकोमा यस पटक भने छलभवानी मष्टा देवतालाई नजिकको मुकुट तीर्थस्थलमा स्नान गराएर ल्याइएको पुजारी यज्ञप्रसाद उपाध्यायले बताए।

वर्षभरी अशुद्ध भई तेजोबद हुन गएका देवताहरुलाई तीर्थस्नान गराएमा शक्ति प्राप्त हुनुका साथै तीर्थस्नानमा गएका धामीझाँक्री र भक्तजनहरुमा समेत मोक्क्ष प्राप्ती मिल्ने जनविश्वास रहँदै आएको पुजारी उपाध्यायको भनाई छ। साउन पूर्णिमा दिनलाई विशेष दिनको रुपमा डोल्पालीले मनाउने गर्दछन्। 

एकादशीदेखि त्रयोदशी हुँदै पूर्णिमाको दिनमा यहाँका हरेक दैविक शक्तिपीठहरुमा धामीझाँक्री काम्नुका साथै विशेषरुपले पूजाआजा गरि मेला लाग्ने गर्दछ। साउन पूर्णिमा पर्वमा जनैपूर्णिमाका साथै रक्षाबन्धन पर्ने भएकाले पनि डोल्पालीहरुले यस पर्वलाई विशेष रुपमा लिने गर्दछन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा अवस्थित प्रशिद्ध श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिर र भैरव मन्दिरमा जनै पूर्णिमाको दिन विहानैदेखि दर्शनार्थीहरुको मेला लाग्ने गर्छ।

मन्दिरमा रहेका पुजारी र अवकन्या बालिकाहरुबाट रक्षाबन्धनको धागो बाँध्ने र दिर्घ जीवनको कामना गर्नका लागि टाढा-टाढाबाट भक्तजनहरु आउने गर्दछन्।

प्रकाशित: ६ भाद्र २०७८ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App