१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

मंसिरमा उदघाटन गर्ने तयारी

कास्कीको पुम्दीकोटमा शिवमूर्ति स्थापित गरिएको छ । मंसिरमा उदघाटन गर्ने लक्ष्य छ । उदघाटन पछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ टेवा पुग्ने विश्वास छ । विशेष गरी भारतीय पर्यटक प्रवद्र्धन हुने अपेक्षा छ ।  

५१ फिटको पद्मासनको शिवमूर्ति व्यक्तिगत सहयोगमा स्थापना गर्न थालिएको हो । हिलट्यांक प्रालिका प्रबन्ध निर्देशक कमल जैनले शिवमूर्ति सहयोग गरेका छन् । सहयोगबाटै स्थापित गरिएको शिवमूर्तिले पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचय थपिदिएको छ । निर्माणकै क्रममा छ । चार महिनामा आन्तरिक काम सक्ने योजना छ ।  

‘अबको चार महिना(मंसिरसम्म) शौचालयसहित रंगरोगनको काम सकेर शिवमूर्ति उदघाटन गर्ने योजनामा छौं,’ पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले भने, ‘उदघाटनपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने छ । धार्मिक पर्यटनको गन्तव्य बन्छ ।’ पुम्दीकोटस्थित भुमेश्वर महादेवको मूर्ति स्थापना गरिएसँगै सर्वसाधारणको आकर्षणको केन्द्रविन्दु बन्दै आएको छ । 

पुम्दीभुम्दीको १३ सय मिटरको उचाईको पुम्दीकोटमा भ्यु टावर छ । कोटमा शिवमूर्ति स्थापना गर्ने परिकल्पना बरालले गरे । तीनवर्ष अघि परिकल्पनालाई साकार पार्न महायज्ञ लगाए । ६ करोड रुपैयाँ दान रकम संकलन भयो । जग्गा समेत दानमा प्राप्त भएको थियो । दान रकमबाट आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाईयो । ‘महायज्ञबाटै जुटाइएको दान रकमबाट काम शुरु गरियो,’ परिकल्पनाकार बरालले भने, ‘२० करोड रुपैयाँ खर्च भईसक्यो ।’

 उनका अनुसार पुम्दीकोट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु गरिएको दीर्घकालिन गुरुयोजना साकार पार्न ४० करोड खर्च हुने अनुमान गरिएको छ । गुरुयोजना पुरा गर्न दानमा दिइएको जग्गा बिक्रीबाट समेत पुरा गर्न सकिने छ । दानमा २० रोपनी जग्गा दान स्वरुप प्राप्त भएको थियो । दानमा विभिन्न संघसंस्था तथा व्यक्ति विशेषबाट ५ हजारदेखि १ करोडसम्म दान गरेका थिए । बरालका अनुसार मुरलीधर रुगंटाले १ करोड रुपैयाँ सहयोग गरेका थिए ।  

योजनाको लागि पर्यटन मन्त्रालयबाट २ करोड ८० लाख रुपैयाँ सहयोग प्राप्त भएको बरालले जानकारी दिए । पोखरा महानगरपािलकाले १ करोड ५० लाख सहयोग उपलब्ध गराएको थियो । गण्डकी प्रदेश सरकारले ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । गुरुयोजना अनुसार काम अझै बाँकी छन् । कुमार, पार्वतीको प्रतिमा राख्नु छ । सुमेरु पर्वत बनाउनुपर्ने छ । ‘गुरुयोजना अनुसार पूर्वाधार बनाउन अझै २÷३ वर्ष लाग्छ ।’ उनले भने ।  

शिवमूर्तिसँगै १०८  वटा शिवलिंग, १०८ स्वर्गद्वारी सिढीं,  महादेवको मूर्तिलाई परिक्रमा गर्ने मोनोरेल समेत राख्ने योजना छ । ५ फिट उचाईको शिवलिंग तथा बसाहा समेत राखिने समितिका अध्यक्ष बरालले बताए । १८ वटा सटर निर्माण गरिएको छ । गुरु महाराज आश्रम समेत बनाइएको छ । आश्रम सुविधायुक्त छ । शिवको प्रतिमा राखिएपछि सर्वसाधारणको भीड अत्याधिक बढ्दै गएको थियो । आन्तरिक पर्यटकको भीडभाडले कोरोनाको उच्च जोखिम हुने भन्दै अहिले शिवमूर्ति दर्शनको लागि पोखरा महानगरपालिका वडा नं १७ ले समितिलाई रोक लगाउन परिपत्र नै गरेको छ ।  

प्रकाशित: ३ भाद्र २०७८ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App