५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिममा ओल्के पर्व विपद्‍मा बाँचेको खुसी !

सबेरै उठ्यो ! नित्यस्नान भ्यायो, धार्मिक स्थलको पूजापाठ, दर्शन ! अनि ‘ओल्को’ बोकेर मान्यजनको दर्शनभेट, आशीर्वाद ग्रहण तथा विपद्कालमा बाँचेको खुसियालीमा शुभकामना आदान–प्रदान। विपद्कालमा बाँचेकै खुसियालीमा यसैगरी सुरु हुन्छ, परापूर्व कालदेखि नै हरेक वर्ष भदौ एक गतेको सुदूरपश्चिमेलीहरूको दिनचर्या वा पर्व। दिन यत्तिमा सीमित रहँदैन। आफन्त र परिवारजनसँगको भेटघाट तथा सामीप्य, मिठो–मसिनो भोजन। ठाउँपिच्छे फरक–फरक शैलीको मनोरञ्जन।  

यसै प्रक्रियालाई नै यस क्षेत्रमा ओल्के पर्व भनिन्छ। जुन यस क्षेत्रको आफ्नै मौलिक पर्व हो। विपद्कालमा बाँचेको खुसियाली साट्न यो पर्व मनाउने जानकारहरूको कथन छ। मंगलबार यसैगरी ‘ओल्के’ पर्व रमझमका साथ मनाइएको छ। जीवन–मरणसँगै जोडेर यस क्षेत्रमा परापूर्व कालदेखि नै अहिले मनाइने ओल्के र वैशाख संक्रान्ति (वैशाख १ गते) मनाइने ‘विशु’ महत्वपूर्ण मानिन्छन्। दुवैसंग सम्बन्धित एउटा उक्ति छ, ‘मरुला भनेर ‘विशु’ खानु, बाँचे भनेर ओल्के खानु !’ यो उक्तिले यी दुवै पर्वको परापूर्व कालदेखि रहिआएको मान्यता प्रस्ट्याउँछ।  

जानकारहरूका अनुसार परापूर्व कालमा वैशाखदेखि साउनसम्मको समयलाई विपत्तिको समय मानिन्थ्यो। जुन समयमा बाढीपहिरो, आँधीबेहरी आउने, अनेक किसिमका रोगव्याधी तथा महामारी फैलने सम्भावना उच्च हुन्छ। यस्तो संकटग्रस्त समयमा ‘मरिन्छ कि !’ भनेर वैशाख सक्रान्तिमा विशु मनाउने र बाँचेको खुसियालीमा भदौ सक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको छ।  

‘विशुको सन्दर्भमा त केही धार्मिक मान्यता पाइए पनि ओल्केका विषयमा भने खासै ठुलो धार्मिक मान्यता पाइँदैन,’ प्रसिद्ध शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्ट भन्छन्, ‘यद्यपि यी दुवै पर्वको स्थान हामीकहाँ ठुलो छ। ’ परापूर्व कालमा बर्र्सेिन यही समयमा फैलने विपद्का घटनाले आक्रान्त समाजले यस्ता मौलिक पर्वहरू जन्माएको उनको बुझाइ छ। यी दुवै पर्व भारतका कुमाउ र गढवालतिर पनि मनाइन्छ।  

अहिले मनाइने ओल्केमा मान्यजनलाई सम्मानस्वरूप दिइने ओल्कोमा हरियो साग (मुख्यतयाः कर्कलाको गाभा) र फलफूल दिइने गरिन्छ। यसबाहेक अन्न, दुध, दही, घिउ, गुँड र पक्वान्न आदि पनि दिइन्छ। शिल्पकारहरूले आफूले बनाएका सामान पनि दिने गर्दछन्। नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहारसमेत ओल्को स्वरूप दिन थालेका छन्। यसरी ओल्को दिन आएकालाई मान्यजनले आफूसँग भएको मिठोमसिनो खुवाएर पठाउँछन्। ओल्केकै अवसरमा सुदूरपश्चिममा पिङ खेल्ने प्रचलन पनि छ।  

यसकै अवसरमा साउन मसान्तीको राति हातमा भंगिरी (एक प्रजातिको फुल) को बोटमा मजेटीलगायत जडिबुटी एकै ठाउँमा पिसेर हातमा लाउने प्रचलन छ। ओल्केको दिन भंगिरी लगाएको हातले मिठो परिकार खाएर भंगिरी चोख्याइन्छ। यसो गरे छालाको रोगको समस्या निको हुने र संक्रमणबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ। पछिल्ला वर्षमा भंगिरीको ठाउँ मेहन्दीले लिँदै गएको छ। विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी मिठा परिकार जस्तै लौन, बाबर, माणा, निसौसे, डुब्कालगायत डोटेली पकाएर खुवाउने प्रचलन रहेको छ।  

यस क्षेत्रमा ओल्केलाई पर्वहरूको जेठो पर्व भनेर पनि बुझिन्छ। यो पर्वले अन्य पर्वलाई ‘ओल्क्याउने’ अर्थात् अन्य पर्व पनि क्रमशः आउने भएकाले यस्तो भनिएको जानकार बताउँछन्। 

प्रकाशित: ३ भाद्र २०७८ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App