आमाघरलाई दाता दिएको सम्पत्ति दुरुपयोग हुने गरेको विषयलाई आयोगले गम्भीरतापूर्वक उठाएको छ। 'आर्थिक अनियमितता छुट्टै छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्ने देखिन्छ', आयोगको प्रतिवेदनमा छ। यसअघि प्रहरी अनुसन्धानले पनि बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको र बालगृहका बालबालिकालाई बाहिर पठाउनेलगायत अन्य आरोप भने प्रहरी अनुसन्धानले पुष्टि गरेको थियो। आमाघरले दाताहरूलाई नगद सहयोगको आग्रहसहित बनाएको बोर्डमा विभिन्न बैंकका १० खाता नम्बर राखिएको थियो। विवादामा तानिएसँगै अधिकांश बैंकका खाता अहिले बन्द गरिएका छन्।
आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गैरकानुनी रुपमा आमाघरमा राखिएका बालबालिकाको अवस्था जोखिमपूर्ण देखिएको उल्लेख गरेको छ। 'बालबालिका राख्ने अनुमति लिइएको छैन, बालबालिका र वृद्धा जोखिमपूर्ण स्थितिमा देखियो', आयोगले भनेको छ। आमाघर को विधानमा बालबालिकालाई राख्ने व्यवस्था नभएको र जिल्ला बालकल्याण समितिबाट बालगृह सञ्चालन गर्ने कुनै पनि प्रकारको स्वीकृति नलिएको आयोगले जनाएको छ।
आमाघरमा आश्रित बालबालिकालाई घरेलु काम लगाउन अन्यत्र लगिएको पाइएकोले यस्ता बालिकालिकाको खोजी गरी पुनःस्थापना गर्नको लागि केन्द्रीय बाल कल्याण समिति तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पहल आयोगले सुझाव दिएको छ।
आमाघरकी एक वृद्धा हराएर कालिमाटीमा प्रहरीले उद्धार गरे पनि वृद्धाश्रम सञ्चालक उदासीन देखिएको आयोगले जनाएको छ। 'हराएकी वृद्धा प्रहरीले भेटे पनि आमाघरलाई सो जानकारी नभएको भेटियो', आयोगले भनेको छ। उद्धार गरिएका मध्ये २२ जना बालबालिकामा स्वास्थ्य समस्या देखिएको उसले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा 'आमाघरले अनुमति नै नलिई बालगृह सञ्चालन गरेको, संस्थाका नाममा आएको आर्थिक सहयोग अपचलन हुने गरेको, बालबालिकालाई अवैध रूपमा विदेश पठाउने गरेको' लगायत आमाघरको आवरणमा अनैतिक गतिविधि हुने गरेको भनी उजुरी परेको थियो। सो उजुरीका आधारमा केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीको संयुक्त टोलीले आमाघरको अनुगमन थालेको थियो। अनुगमन क्रममा त्यहाँ आश्रित बालबालिका जोखिममा रहेको र अन्य आरोपबारे विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै २०७० फागुन १४ गते प्रशासनले बालबालिकाको उद्धार गरेको थियो।
प्रकाशित: ८ जेष्ठ २०७१ ०२:५० बिहीबार





