१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मनाङका बाढी पीडितः घर बनाउन प्रतिपरिवार दुई लाख दिइने

असार पहिलो साताको बाढीपहिरोको चपेटामा परेको हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले विशेष राहत दिने भएको छ । प्रदेश सरकारले बाढीले पूर्ण रुपमा क्षति पुगेको घर निर्माणका लागि प्रतिघर २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।  

बाढीले पुर्‍याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशका मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बरालले सोमबार मनाङको नासों गाउँपालिकाका दुईठाउँमा पुगेर क्षतिग्रस्त स्थलको अवलोकन गरेका छन् । स्थानीय बाढीपीडितसँगको अन्तरक्रियाका क्रममा मुख्यमन्त्री पोखरेलले बाढीले पूर्ण क्षति पुर्‍याएका घर निर्माणका लागि प्रतिघर २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।  

मनाङमा यो बर्खामा ८५ घर पूर्ण रुपमा क्षति भएको प्रदेश सरकारले बताएको छ । नासों गाउँपालिका–१ मा मात्र ७० घरमा क्षति पुगेको छ । त्यस्तै धारापानीमा पनि १२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । मुख्यमन्त्री पोखरेलले लम्जुङको बेसीसहरदेखि मनाङको चामेसम्मको सडक खुलाउन संघ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए । त्योभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ ।  

मुख्यमन्त्री पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाए । संघीय सरकारले यसअघि नै मनाङलाई विपद संकटग्रस्त घोषणा गरिसकेको छ । जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि आफूले केन्द्रसँग समन्वय गरिरहेको पोखरेलको भनाई छ ।  

यसअघि नै मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बाढी र पहिरो प्रभावितको पहिचान गरी तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि सरकार कटिवद्ध भएको बताए । अधिकांश बस्ती बगरको रुपमा परिणत भएकोले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने उनले प्रतिबद्धता जनाए । अझै पनि मर्स्याङदी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । कुनैपनि बेला नदीमा बाढी आउने त्रास गाउँलेमा छ ।  

नासों गाउँपालिकाका सबै वडामा बाढीपहिरोले क्षति पुर्‍याएको अध्यक्ष घलेले बताए । अविरल बर्षातले मर्स्याङदी नदी र दुधखोलामा आएको बाढीका कारण सबै वडाहरु प्रभावित भएको अध्यक्ष घलेले बताए । बाढीले स्थानीयको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिन समेत बगाएको छ । मुल सडक र झोलुंगे पुल बगाएको छ । गोरेटो बाटो समेत हिँड्न सकिने अवस्थामा छैन । सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरुमा मर्कामा परेको स्थानीयले दुखेसो गरेका छन् ।  

प्रकाशित: १ भाद्र २०७८ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App