१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

रुपन्देहीमा छुट्टाछुट्टै दुर्घटना : चार जनाको मृत्यु, २८ घाइते

रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

आज दिउँसो बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगर जंगल नजिक दुई वटा माइक्रोबस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेशको ०० ख ८९२८ नम्बरको इभी माइक्रोबस आपसमा ठोक्किएका थिए।

दुर्घटनामा नवलपरासीको मध्यविन्दु नगरपालिका–१० अरुणखोलाकी ६० वर्षीया रानीकुमारी खत्री र ठेगाना नखुलेका अन्दाजी ५० वर्षीय पदम रायमाझी को मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको हो। घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, गएराति पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई युवतीको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ कालिकानगर रामपथकी १८ वर्षीया पूर्णिका उचइ मगर र कपिलवस्तुको बाणगंगा नगरपालिका–९ भलवाडकी १९ वर्षीया निशा कुँवर रहेका छन्।

स्कुटर चालक कपिलवस्तुको बाणगंगा–७ बनगाईका २० वर्षीय सुमन श्रेष्ठ घाइते छन्। उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

लु ३५ प ५७६६ नम्बरको स्कुटर मंगलबार साँझ करिब ७ बजे पाल्पाको नुवाकोटबाट झर्दै गर्दा भ्यूटावर नजिकैको ओरालोमा अनियन्त्रित भई पल्टिएको थियो। स्कुटर सडकबाट करिब ३० मिटर तल खसेको अवस्थामा प्रहरी टोलीले उद्धार गरेको थियो।

घाइते तीनै जनालाई बेलबासस्थित एडमन सिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा उपचारकै क्रममा पूर्णिका र निशाको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App