२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

फाइल तस्बिर

रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका ११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी २ का ४० वर्षीय मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिए।

प्रहरीचौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा छ जनाको प्रहरी टोली खटिएको थियो। उनीहरूको साथबाट रु १ लाख ६७ हजार १०५ सहित एक गड्डी खोलेको र एक गड्डी नखोलेको ताससमेत बरामद गरिएको उनले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ। कार्यालय बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको हो।

बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीले फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाएको सानीभेरी गाउँपालिकाले जनाएको छ।

कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवाप्रवाहमा असर परेको भन्दै कार्यसम्पादनमा सुधार ल्याउन उक्त निर्णय गरिएको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिए।

उनका अनुसार सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो। 

गाउँपालिकाले सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ। साथै सेवाग्राहीलाई आवश्यक सूचना तथा सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।

सानीभेरी गाउँपालिकाको यो कदमले कार्यालयको कार्यक्षमता वृद्धि हुनुका साथै सेवाग्राहीले समयमै सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App