भिजिट भिषामा नेपाल आएर धर्मप्रचारमा सक्रिय रहेको आरोपमा विराटनगरबाट ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । उनीहरुलाई विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा कार्यक्रममा सरिक भईरहेको बेला नियन्त्रणमा लिइएको हो ।
शनिबार ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम गरिरहेका उनीहरूको विषयमा प्रहरीले सोधपुछ गर्दा भिजिट भिषामा आएको पाइएको थियो । भिजिट भिषमा आएर गैरकानुनी गतिविधिमा संलग्न रहेको पाइएपछि अध्यागमन कार्यालय काठमाडौंबाट टोली खटाएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
पक्राउ पर्नेमा सिंगापुरका नागरिक को वी हक, लोह ली पेङ, ली बेङ एन,लोह ली तियान,ओङ चिउ कोक र चिउ टेक फोक छन् । उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्ष मुनिका १२ जना किशोरीसहित ३० जना कार्यक्रममा सहभागी थिए । पर्यटक भिषामा आएका उनीहरुले धर्मसम्बन्धी प्रचारप्रसार र प्रशिक्षण कार्यक्रममा सरिक भएका थिए ।
प्रकाशित: ५ वैशाख २०८३ १७:४१ शनिबार




