११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

तीन दिनको बाढी-पहिरोमा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी तीन दिनयता ६ जनाको मृत्यु भएको छ।

गत असोज ८ गतेदेखि सुरु भएको विपद्‍मा परेर चारवटा प्रदेशमा ६ जनाको ज्यान गएको हो भने ४०७ जनाको सकुशल उद्धार गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी-पहिरोमा परेर बागमती प्रदेशमा २, लुम्बिनी प्रदेशमा २, गण्डकी प्रदेशमा १ र कर्णाली प्रदेशमा १ जना गरी कुल ६ जनाको मृत्यु भएको छ।

प्राकृतिक विपद्का घटनाहरूमा परी २ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

यसैबीच, विपद् जोखिममा परेका विभिन्न जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य तीव्र बनाइएको छ। प्रहरीले स्थानीय तह, विभिन्न निकाय र स्थानीयबासीको सक्रिय समन्वयमा हालसम्म ४ सय ७ जनाको उद्धार गरी सुरक्षित स्थलमा पुर्‍याएको छ।

जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा दिने कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०८३ १९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App