६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धरानको बजार क्षेत्रमा १०० फिट खाली गराउन सडक योजनाको पत्राचार

८० फिट मापदण्ड कायम गराउन मेयरको टोली काठमाण्डौं

कोशी राजमार्गअन्तर्गत रानी विराटनगर इटहरी धरान सडक योजनाले धरानको मुख्य बजार क्षेत्रमा सकड विस्तारको लागि दुवैतर्फ केन्द्रबाट १५/१५ मिटर चौडाई खाली गराइदिन धरान उपमहानगरपालिकालाई पत्राचार गरेको छ।

आयोजना प्रमुख इञ्जिनियर बद्रीप्रसाद शर्माले साउन ११ गते पत्राचार गर्दै सडकको दुवैतर्फ १५/१५ मिटर अर्थात् कुल ३० मिटर चौडाईको सडक खाली गराइदिन पत्राचार गरेका हुन्। सडक योजनाले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र इटहरी उपमहानगरपालिका भित्रको क्षेत्रमा सोही मापदण्डमा सडक निर्माण एवं विस्तार भएकोले धरानमा पनि बजार क्षेत्रमा ३० मिटर सडक विस्तार गर्ने जनाएको छ।

योजना प्रमुख शर्माले ६ लेन सडक सेडब्याकसहित कूल ६२ मिटरको भए पनि तत्काल ३० मिटरमात्र विस्तार गरिने बताए। ‘यो सडक ६२ मिटर भएपनि अहिले न्यूनत्तम ३० मिटर भए हुन्छ, त्यति खाली हुनुपर्छ भनेका हौं,’ इञ्जिनियर शर्माले भने, ‘यतिमात्र भयो भनेपछि थुप्रै दशकसम्मलाई पुग्छ।’

कोशी राजमार्ग धरान बजार क्षेत्रमा मात्र १४ देखि १५ मिटर चौडाइको छ। कोशी राजमार्ग ६ लेन अर्थात् मापदण्डअनुसार ६२ मिटरै विस्तार गर्नुपर्दा धरानको प्रमुख व्यापारिक बजार क्षेत्रमा ठूलो भौतिक नोक्सानी व्यहोर्नुपर्छ। बजार क्षेत्रको प्रायः सबै घर तथा व्यापारिक भवनहरु भत्काउनुपर्ने हुन्छ। मापदण्ड अनुसार सडक केन्द्रबाट दुवैतर्फ २५/२५ मिटर सडक हुनेछ भने सेड ब्याक थप ६/६ मिटर हुनेछ। अहिले सडक योजनाले भनेअनुसार थप १५ मिटर चौडाई खाली गराउदा पनि थुप्रै घरहरु भत्किन्छ ।  

धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरिङ महाशाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठका अनुसार धरानमा २०७२ सालअघिसम्म ५० फिट अर्थात् १५ मिटर मापदण्ड अनुसार मात्र घरनक्सा निर्माणको इजजात दिइने गरिएको थियो। मन्त्रालयले २०७२ सालमा राजमार्ग मापदण्डअनुसार मात्र घरनक्सा पास गर्न निर्देशन दिएपछि विगतको मापदण्डअनुसार घरनक्सा पास गर्न रोकिएको छ। ‘राजमार्गको मापदण्ड ५० मिटर सडक र ६/६ मिटर सेडब्याक गरेर ६२ फिट हुन्छ, त्यो भनेको २०५ फिट हो। २०७२ सालसम्म हाम्रो मापदण्ड १५ मिटर अर्थात ५० फिटको थियो,’ इञ्जिनियर श्रेष्ठले भने, ‘राजमार्गको मापदण्ड लागु हुँदा धरानको बजार क्षेत्रको ठूलो भौतिक क्षति हुन्छ।’

सडक विस्तारको क्रममा अहिले नै कोशी राजमार्गको मापदण्ड सुनिश्चित गरेर मात्र खाली गराउनुपर्ने उनको भनाइ छ। त्यसो नगरेपछि फेरि सडक विस्तारको नाममा घरहरु भत्काउनुपर्ने हुन्छ। ‘राजमार्ग वाइपास गरेनौं वा मापदण्ड घटाएर नयाँ कायम गरेनौं भने अहिले होस वा पछि नोक्सान ठुलो हुन्छ, त्यसैले टुंगो अहिले नै लगाइहाल्नुपर्छ,’ उनी भन्छन्।

८० फिट कायम गराउन पहल

६ लेनको कोशी राजमार्ग धरानको बीच बजार भएर जाने भन्ने हल्ला चलेपछि केही वर्षअघि धरानमा आन्दोलन चल्यो। २०५ फिट चौडाई राजमार्ग विस्तार हुँदा बजारका सबै उठिबास हुने भएकोले बाइपास गर्नुपर्छ भनेर आन्दोलन चल्यो।  

धरान नगर कार्यपालिकाले ८० फिट मापदण्ड कायम गराउन संघीय सरकारसँग पहल गर्ने निर्णयसमेत गरेको थियो। अहिले सडक योजना कार्यालयले ३० मिटर अर्थात् १०० फिट सडक खाली गराउन पत्राचार गरेपछि फेरि जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु ८० फिट मापदण्ड कायम गराउन दौडधुपमा छन्।  

पत्र आएपछि राजनीतिक दलहरुबीच छलफल भएको थियो । उक्त छलफलमा ८० फिट नै कायम गराउने समझदारी भएको थियो।  सोहीअनुसार अहिले धरानका मेयर तिलक राईको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु काठमाडौँमा डेलिगेशन गएका छन्। सडक ठूलो बनाउन राम्रो भएपनि धेरै भौतिक क्षति हुने भएकोले विकल्प खोज्न आग्रह गरिएको मेयर राईले बताए। उनले वाइपास गर्न सकेमा धेरै सहज हुने पनि बताए।

अघिल्लो सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङसँग धरान बजार क्षेत्रमा ८० फुट कायम गराउने समझदारी भए पनि सरकार परिवर्तनसँगै समस्या भएपछि डेलिगशन आएको सांसद जयकुमार राईले बताए।  

प्रकाशित: ३० श्रावण २०७८ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App