गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा रहेको ६ हजार ६३ रोपनी जग्गामा तत्कालीन गाउँपालिकाका कर्मचारी, स्कुलका प्रतिनिधि तथा स्थानीय जग्गा कारोबारीले अतिक्रमण गरी बस्ती बसालेको पाइएको छ। गाई आनुवंशिक स्रोत केन्द्र कृषि मन्त्रालय, पशु सेवा विभागअन्तर्गत पर्छ।
राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनअनुसार दोलखाको जिरी नगरपालिका (साबिकका जिरी, माली र श्यामा गाउँ विकास समिति), रामेछापको गोकुलगंगा गाउँपालिका (साबिकको चुचुरे गाउँ विकास समिति) र उमाकुण्ड गाउँपालिका (साबिकको बाम्ती गाउँ विकास समिति) मा रहेको गाई आनुवंशिक स्रोत केन्द्रको ७ हजार ६ सय ५९ दशमलब ८ रोपनी जग्गामध्ये ६ हजार ६३ दशमलब ४८ रोपनी अतिक्रमण गरिएको छ।
प्रतिवेदनअनुसार सुरुमा उक्त जग्गा जिरी बहुमुखी कृषि फारामको स्वामित्वमा थियो। त्यसपछि उक्त जग्गा पशु विकास फाराम जिरीको नाममा आयो। अहिले उक्त जग्गा गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा छ। केन्द्र उन्नत जातका गाई प्रजनन गर्ने उद्देश्यबाट स्थापना गरिएको हो ।
गाई आनुवंशिक स्रोत केन्द्रका नाममा जग्गाधनी प्रमाणपुर्जा भएको १ हजार ५ सय ४६ दशमलब ३२ रोपनी जग्गा मात्र अतिक्रमित नदेखिएको सतर्कता केन्द्रले जनाएको छ । तर आनुवंशिक स्रोत केन्द्रको नाममा नापनक्सा भएको तर जग्गाधनी प्रमाणपत्र पाउन बाँकी रहेको ५ हजार १ सय २८ दशमलब ८६ रोपनी जग्गा पूरै अतिक्रमण गरिएकोे प्रतिवेदनमा उल्लेख छ। यसैगरी नापनक्सा छुट भएको ९ सय ८४ दशमलब ६२ रोपनी जग्गामध्ये करिब ५० रोपनीबाहेक सबै अतिक्रमण गरिएको किटानी प्रतिवेदनमा गरिएको छ।
साबिकको जिरी बहुमुखी विकास योजना कृषि फारामको नाममा दर्ता भई २०४४ साल भदौ २५ गते सरकारको निर्णय र मालपोत कार्यालय रामेछापको मिसिल नम्बर ९१ को आदेशानुसार सिद्धेश्वर माविले उपभोग गर्नेगरी गाउँ विकास समितिको कार्यालय, बाम्तीलाई जिम्मा दिने निर्णय गरिएको रामेछाप साबिक बाम्ती गाउँ विकास समिति–३ (हाल उमाकुण्ड गाउँपालिका–२) स्थित ३ क सिट नम्बर र ८२ कित्ता नम्बर रहेको ५४ रोपनी ८ आना १ दाम जग्गाको हकमा सिद्धेश्वर माविले आफंै भोगचलन गरेको नदेखिएको प्रतिवेदनमा जनाइएको छ । उक्त जग्गामा बस्ती र बजार बसाउन घडेरी बनाई वितरण गर्ने काममा साबिकको बाम्ती गाउँ विकास समितिको कार्यालयका कर्मचारी तथा सिद्धेश्वर माविको समेत संलग्नता रहेको देखिएको छ।
दोलखाको साबिक श्यामा गाउँ विकास समिति–५ (हाल जिरी नगरपालिका–१) स्थित पशु विकास फारामको नाममा नापनक्सा भई दर्ता बाँकी रहेको जग्गामा वडा कार्यालय भवनसहित स्विमिङ पुल, स्टोन पार्क, निजी घरसमेत निर्माण गरी बस्ती बसालिएको प्रतिवेदनमा उल्लेख छ ।
रामेछाप गोकुलगंगा गाउँपालिका–२ (साबिकको रामेछाप चुचुरे गाउँ विकास समिति), गज्र्याङमा गाई आनुवंशिक स्रोत केन्द्र (साबिक पशु विकास फाराम) ले विगतदेखि भोगचलन गर्दै आएको जग्गामा हाल गज्र्याङ उपत्यका हाइड्रो पावर लिमिटेडको २ दशमलब ८३ मेगावाट क्षमताको चाकेखोला जलविद्युत् आयोजना र हिमालयन उ,र्जा विकास कम्पनीको ७ मेगावाट क्षमताको माथिल्लो खिम्ती २ आयोजनाको पावर हाउस निर्माण गरिएको छ। उक्त जग्गाको नापनक्सा गर्न छुट भएको सतर्कता केन्द्रले जनाएको छ।
गाई आनुवंशिक स्रोत केन्द्रले २०१८ सालदेखि भोगचलन गर्दै आइरहेको र २०३१ सालमा नापनक्सा हुँदा छुट हुन गएको ३५ हेक्टर जग्गाको जग्गाधनी केन्द्रको नाममा नापनक्सा गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन सतर्कता केन्द्रले भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ। स्थानीय प्रशासनको सहयोग लिएर अतिक्रमित जग्गा आफ्नो भोगचलनमा ल्याउन सतर्कता केन्द्रले गाई आनुबंशिक स्रोत केन्द्रलाई पनि निर्देशन दिएको छ। यस विषयमा सतर्कता केन्द्रले आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको छ।
प्रकाशित: ३० श्रावण २०७८ ०२:१० शनिबार





