२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आतंक मच्चाउने हिमाली कालो भालुलाई गोली हानी मारियो

जुम्ला सदरमुकाम खलंगामा प्रवेश गरेर आतंक मच्चाउने हिमाली कालो भालुलाई गोली हानी मारिएको छ। भालुलाई अधिकतम बचाउने र जंगल तिर फर्काउने प्रयत्न भएपनि भालुले आतंक मच्चाउने थालेपछि गोली हानी मारिएको हो।  

खलंगामा हिमाली कालो भालुका आक्रमणबाट तीनजना घाइते भएका छन्। जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहीबार बिहान साढे ४ बजेतिर भालुले आक्रमण गर्दा तीनजना घाइते भएका हुन्।  

मोवाइल पसल खोल्न निस्किएका दैलेख चामुण्डा बिन्द्रासैनी ९ घर भइ जुम्ला सदरमुकाम खलंगा कार्कीबाडा बस्दै आएका २९ वर्षीय हिमबहादुर रोकाया र २६ वर्षीया उनकी पत्नी निर्मला थापा रोकायालाई आक्रमण गरेको थियो। भालुको आक्रमणबाट पतीपत्नी दुबै घाइते छन्। हिमबहादुर रोकाया सामान्य घाइते भएकोले अस्पतालबाट डिस्चार्ज भइसकेको र पत्नी निर्मलाको अनुहारको अप्रेशन भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सदरमुकाम क्षेत्रमा भालुको खोजी कार्य भइरहेको बेला नजिकैको चन्ददनाथ नगरपालिका ४ सिंगाचौरका २५ वर्षीय आशिष सार्कीलाई समेत आक्रमण गरी घाइते बनाएको थियो। घाइते सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराहेको छ।

चन्दननाथ नगरपालिका ५ कार्किवाडमा हिमाली कालो भालु एक्कासी बजार देखिएको थियो। भालु बजार क्षेत्रमा प्रवेश गर्दा जुम्लावासी निकै त्रासित बनेका थिए।  

भालुले आक्रमण गरेपछि एकाविहानैदेखि हल्लीखल्ली भइसकेको थियो। बजारमा भालु पसेको जानकारी पाउने वित्तिकै जिल्ला प्रशासान कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई नियन्त्रणमा लिएर जंगलतिर पठाउने प्रयन्त गरिरहेको थियो।

टोलीले भाुललाई सुरक्षित पूर्वक जंगलतिर लखेट्न खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन सकिएको थिएन। भालु सिंगाचौर गाउँको एक घरको तल्लो तलामा बसेको थियो।  

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले सकभर भालुलाई सुरक्षित जंगल तिर पठाउने प्रयत्न भइरहेको थियो। घरबाट बाहिर निकाल्न अनेक प्रयत्न भए। घरबाहिर कराउनेदेखि टियर ग्याँस हान्नेसम्मका कार्य पनि भए। तर भालु टस न मस भयो। न भालु बाहिर निस्कियो। नत कुनै प्रतिक्रिया नै दियो। 

नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले भने,‘घरमुलीसंगको सल्लाहमा छतदेखि भत्काएर भालु भगाउने प्रयत्न भइरहेको थियो। भालुले उल्टै सुरक्षाकर्मीलाई चिथोर्न खोज्थ्यो।’ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीले भालु मार्ने आदेश दिएपछि गोली हानेर मारिएको थियो।  

बौलाह र नरभंक्षी स्वभावको भालु देखेपछि गोली हानी मारिएको सुरक्षाकर्मीले जनाएका छन्। जुम्ला सदरमुकाम खलंगामा भालु पसेको इतिहासमै पहिलो पटक भएको बुढापाकाहरु बताउँछन्। विहान भालु भगाउनको लागि दुई हवाइफायर गरिएको थियो। मान्छेको चहलपहल भएको क्षेत्रमा भालु आउँदैन भन्थे तर सहरमै भालु पसेको देख्दा स्थानीय चकित छन्।  

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजङ्ग खत्री सुरक्षितस्थल तिर लखेट्न खोज्दा समेत भालु गाउँ पसेर आतंक मच्चाउन थालेपछि गोली हानी मारिएको बताउँछन्। गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखियो। गाउँमा कोलाहल मच्चियो। भालुदेखि सुरक्षित हुन निकै कठिन बन्यो। गाउँले एकै ठाउँमा जम्मा भएर भालु भगाउने उपाय अपनाउन थाले। तर भालु गाउँदेखि भगाउने कुनै पनि उपाय सफल हुन सकेनन्। झन भालुले गाउँमै बसेर मानवीय क्षति गर्ने संकेत देखियो। भालु बहुँला प्रकृतिको, नरभंक्षी प्रकारको थियो।  

भालु आतंकले सदरमुकाम खलंगा नै त्रसित बन्यो। सात घण्टाको तनावपछि भालुलाई गोली हान्न बाध्य भएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ। भालुले नछोड्ने संकेत देखिएपछि गाउँलेले भालु मारिदिन स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम गोली हान्ने आदेश दिएको बताइन्।  

ऐनमा कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर गएर मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने व्यवस्था छ।  

सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना  डिभिजन वन कार्यालयको सक्रियतामा मारिएको भालुलाई डिभिजन वन कार्यालयमा लिएर पशु प्राविधिकले मृत घोषित गरेका थिए। हिमाली भालुको लम्बाइ ५ फिट, उचाई ३ फिट, गोलाई चार फिट थियो। अगाडिको पञ्जाको लम्बाई ७ इन्च, चौडाई ५ इन्च थियो। पञ्जाका नंग्रा २० वटा थिए। भालुको तौल दुइ क्वीन्टल थियो। रातो कालो र छातिको भाग सेतो थियो। भालुलाई वन कार्यालय परिसरमा १० फिट गहिरो खाडल खनेर गाडिएको थियो।  

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरीका एसएसपी  गगन श्रेष्ठ, डीएसपी दानबहादुर थापा र पत्रकारहरुको रोहवरमा खाल्डोमा गाडिएको हो। भालुको शरीरमा दश पोका नुन छर्किएको छ।  

दिनदाहडै भालु मानिसको चहलपहल भइरहने क्षेत्रमा प्रवेश गर्न थालेपछि जुम्लावासी त्रासिद छन्।   भालुले किसानले लगाएको अन्नबाली सखाप पार्ने, पशुबस्तु मार्ने र मान्छेलाई समेत आक्रमण गर्ने गरिरहेको छ।      

जिल्ला वन डिभिजन कार्यालयका प्रमुख दिनेश खत्री भालुको खोजीमा दिनभर तनाव भएको बताउँछन्। उनले भने,‘सुरक्षाकर्मीको टोलीले बजार क्षेत्र र प्रशासनको दक्षिण भाग सर्च गरेको थयो। सावधानी अपनाउन माइकिंग गरिरहेको थियो। तर भेटाउन सकेन। भालु त नजिकैको गाउँमा प्रवेश गरिसकेको रहेछ।’

जुन, जुलाई र अगस्ट महिनामा प्रजनन क्रिया चल्ने भएको पोथी भालु खोज्दै सदरमुकाम पसेको हुन सक्ने अनुमान गरिएको छ। उनले भने,‘यो बेला फलफूल र मकैको सिजन पनि भएकोले आहरा खोज्दै झरेको हुन सक्छ। भालु मानिससंग जम्काभेट भएपछि मात्र आफू सुरक्षित हुन आक्रमण गर्छ। यो घटना पनि त्यही हुन सक्छ।’

यो हिमाली कालो भालुको बसोबास क्षेत्र जुम्ला नै हो। तर कति छ भालुको संख्या अनुसन्धान हुन सकेको छैन। यो लजालु र डरालु स्वभावको हुन्छ। श्रवणशक्ति कम हुन्छ। सुग्ने शक्ति बढी हुन्छ। यो भालु राती सक्रिय हुने र दिउँसो आइसोलेट भएर बस्छ।’ 

भालु मारेपछि यहाँका स्थानीयले शान्तिको सास फेर्न थालेका छन्।

प्रकाशित: २८ श्रावण २०७८ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App