२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमणबाट दम्पती घाइते

जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमणमा परेर दुई जना घाइते भएका छन्। विहान साढे ४ बजे पसल खोल्न गएका दुई दम्तीलाई भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट दैलेख जिल्ला घरभई जुम्ला सदरमुकाम खलंगामा बस्दै आएका हिमराज रोकाया र निर्मला रोकाया घाइते भएका हुन्। उनीहरु सदरमुकाम खलंगाको बालमन्दिर नजिकै मोवाइल पसल गर्दै आएका छन्।  

घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। भालुको आक्रमणबाट घाइते भएका मध्ये निर्मलाको अवस्था गम्भीर भएको छ। हिमराजको अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए।  

उनले भने,‘पत्नी निर्मलाको ठूलो घाउ छ। पति हिमराजको धेरै ठाउँ घाउ भएपनि सानो सानो छ। उनीहरुको उपचार भइरहेको छ। ’

भालु राति नै बजार पसेको स्थानीय बताउँछन्। भालु इतिहासमै पहिलो पटक सदरमुकाम खलंगा भित्र पसेर आक्रमण गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले भालु नियन्त्रणमा लिन चौतर्फी सुरक्षाकर्मी खटाइएको छ। भालु गएको क्षेत्रमा कडा सुरक्षा कर्मी परिचालन गरिएको बताउँदै उनले घरबाहिर निस्कदा उच्च सावधानी अपनाउनको लागि आग्रह गरे।  

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाको नेतृत्वमा विहानैदेखि टोली खटिएको छ। टोलीले भालु तर्साउनको लागि अनेक काम गरिरहेको छ। दुई वटा हवाई फायर समेत गरिएको छ।  गणपति थापाले भने,‘भालु गएको हुन सक्ने संभावित सबै ठाउँमा खोजी भइरहेको छ।’

उनले घरबाहिर निस्कँदा सचेत हुनुपर्ने बताए। अहिले सदरमुकाम क्षेत्रमा भालुको खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली निस्किएको छ। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी पर्साई बिरामी भेटघाट गर्न अस्पताल पुगेकी छिन्। उनले भालुको आक्रमणबाट घाइते दुबै जनाको अवस्था बुझेकी हुन्।  

अहिले भालु निस्किएको क्षेत्रमा आफै पुगेर प्रमुख जिल्ला अधिकारी पर्साइले भालुको कडा निगरानी गर्न निर्देशन दिइन्। भालु सदरमुकाम खलंगामा पसेपछि स्थानीय त्रासिद छन्। उनीहरुले तत्काल भालुको खोजी गरेर जुम्ला सदरमुकामलाई त्रास मुक्त बनाउन आग्रह गरेका छन्। भालु कसरी बजारमा पसेको भन्ने बिषयमा अनुसन्धान भइरहेको छ।  

बाहिनीपति यामबहादुर सापकोटाले संयुक्त टोली परिचालन गरिएको बताए। उनले भने,‘संभावित क्षेत्रमा टोली खटिएको छ। भालु नियन्त्रणमा लिने अधिकतम प्रयत्न भइरहेको छ।’

प्रकाशित: २८ श्रावण २०७८ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App