१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्तरजातीय प्रेम विवाहको अन्तर्यः प्रेमीले धोखा दिए, प्रेमिकाले प्राण त्यागिन्

प्रेम विवाहपछि ज्योती कृष्ण । ज्योतीको मृत्युपछि भावविहवल पासवान परिवार । तस्बिरः मिथिलेश/नागरिक

जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाई न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’ ज्योती पासवानले प्रेम गरिन्। र, प्रेम गरेको ‘अपराध’ मा महिनौं ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहिन्। अन्ततः आफ्नो प्रेमलाई जीवन्त राख्न आफ्नो प्राण त्याग गरिन्। भनिन्छ नि प्रेममा कोहि मर्छन्, कोहि बाँच्छन्। ज्योती मरेर आफ्नो प्रेमको ज्योतीलाई ज्वलन्त राखिन्।

सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाकी ज्योती पासवानले शनिबार आफ्नै घरमा पासो लगाएर प्राण त्यागेकी छिन्। ज्योती र सोही ठाउँका कृष्ण मिश्रबीच प्रेम सम्बन्ध थियो। उनीहरुबीचको प्रेम गाउँका धेरैलाई थाहा थियो। ज्योती पासवान दुसाध जातकी थिइन्। यो जातीलाई मधेसी समाजमा दलित भनिन्छ। कृष्ण मिश्र मैथिल ब्राह्मण जातका हुन्। मधेसी समाजमा यो जातीलाई उच्च जात भनिन्छ। सामाजिक जातीय घेरा नाघेर ज्योती र कृष्ण प्रेमको अलग्गै संसार बनाउने सपना देखेका थिए।  

तर कृष्णको परिवारले दलित केटीलाई बुहारी बनाएर भित्र्याउन मानेनन्। र, ज्योतीलाई बिहे गरे सम्पत्तिबाट बेदखल गरिदिने चेतावनी कृष्णको परिवारले उनलाई दिए। कृष्णको परिवारले दलित केटीसँग कुनै हालतमा विवाह गर्न नदिने अडान राखेपछि कृष्ण ज्योतिलाई लिएर गत फागुनमा कृष्णले गाउँ छाडे। सामाजिक रिवाजअनुसार छोरीको विवाह गर्न नपाएपछि आफूहरुले सोचेजस्तो विवाह गरिदिन नपाए पनि छोरीको दाम्पत्य जीवन सुखमय बितिरहेको सुनेर आमा इनरबत्ती र बुवा प्रमोद पासवान सन्तोष महसुस गर्थे। बेटी जमाइसँगे बात केलापर बहुत खुसी हाइछल-छोरी ज्वाइँसँग कुरा गर्दा खुसी महसुस हुन्थ्यो इनरबत्तीले भनिन्,‘नै सोचने रहि जे प्यारके बदलामे बेटीके जान दिय परतै-सोचेकि थिइनँ प्यारको बदला छोरीको ज्यान हुन्छ ।’  

फागुनदेखि घर छोडेर ज्योती र कृष्ण दुबैजना सिरहाको मिर्चैयामा बस्दै आएका थिए। आफूहरु जनकपुरको विवाह मण्डपमा बिहे गरेको ज्योतीले माइती पक्षलाई बताएकी थिइन्। सिन्दुर, मंगलसूत्र, लगाएको फोटो समेत माइती पक्षलाई साझा गरेकी थिइन्। चार दिनअघि मात्र उनीहरु मिर्चैया छोडेर लहानस्थित पुष्पाञ्जली लजमा आएका थिए।

लजमा तीन दिन बसेपछि चौथो दिन कृष्ण ज्योतीलाई कोठामै छोडेर भाडा घर खोज्न जान्छु भनेर हिँडेका थिए। लजमा कति बस्ने कोठा खोजेर आउँछु भनेर हिँडेका उनी तीन दिनसम्म नफर्केपछि ज्योतीले आफ्नी दिदीमार्फत आमालाई खबर पुर्याइन्। आफूलाई लहानको पुष्पाञ्जली लजमा राखेको र लजवालाले पैसा मागेर हैरान पारिरहेको कुरा पनि उनले फोनमा आमालाई सुनाइन्। 

बुवा प्रमोदले गाउँका अगुवाहरु लिएर लज पुगेका थिए। लजबाट छोरीलाई लिएर इलाका प्रहरी कार्यालय लहान पुगेर प्रमोदले न्याय मागेका थिए। लहान प्रहरीले कृष्ण मिश्रविरुद्ध जबर्जस्ती करणी र शरीरबन्धक मुद्दा चलाउन सकिने भन्दै जाहेरी दिन भन्यो। ‘पुलिस त मुद्दा चलाबैलेल तयार छेलै (प्रहरी मुद्दा दर्ता गर्न तयार थियो),’ प्रमोदले भने,‘ बेटी भोकाइस फाइर क कने लागलै आ मुद्दा दैले तयार नै भेलै-छोरी भक्कानिएर रुन थालिन र मुद्दा दिन मानिनन्। कृष्ण फर्केर आउँछ भन्ने विश्वासले उनी मुद्दा दिनबाट पछि हटेकी थिइन्।’

जेकरा सँगे प्रेम केलियै ओकरा खिलाफ कोना मुद्दा दियै(जोसँग प्रेम गरे उनको खिलाफ कसरी मुद्दा दिनु) ज्योतीको भनाई सम्झदै बुवा प्रमोदले भने,‘कृष्ण छोइर क गेलो पर बेटीके अपन प्रेमप्रतिके विश्वास नै टुटलै-कृष्णले लजमा एक्लै छोडेर जाँदा पनि ज्योतीको विश्वास निभेन।’ ज्योतीको उमेर २० वर्ष पुग्न केही दिन बाँकी रहेकोले लहान प्रहरीले उनको बुवाकै जिम्मा लगाएर पठायो।

बुवासँग घर फर्केकी ज्योती कृष्ण फर्केर आउने आशमा बसिरहेकी थिइन्। उनमा अटुट विश्वास थिए, कृष्ण फर्केर मसँग आउँछ। कृष्णके इन्तजारमे बाट देखैत रैह गेलै, ओ नै एलै (कृष्ण आउने आशमा बसिरहिन् तर उनी आएनन् ) इनरबत्ती भन्छिन्,‘कृष्णके एतै से आशमे कानैत कानैत नोर सुइख गेलै-कृष्ण आउलान् भने आशमा रुँदा रुँदा उनको आँशु सुकिसकेको थियो। इनरबत्तीले सम्झाउँदा उनी एउटै कुरा भन्थिन्,‘ओ एतै मा, ओ जरुर एतै-आमा उहाँ आउनुहुन्छ, अवश्य आउनुहुन्छ।’

प्रमोद वर्षौ वैदेशिक रोजगारमा खटिएर गाउँमा पक्कि घर ठड्याएका छन्। केही खेती जमीन जोडेका छन्। विदेशकै कमाइबाट घर नजिकै चियानास्ता पसल खोलेका छन्। वैदेशिक रोजगारीमा जान छोडेपछि परिवारको गुजारा यसैबाट चलाउँछन् प्रमोद। सधैंझै शनिबार पनि प्रमोद दम्पती पसल चलाउन गए। 

ज्योतीलाई खाना पकाउन भनेर उनीहरु पसल गएका थिए। ज्योतीको जेठी दिदी आरती पनि घर आएकी थिइन्। तर उनी पनि पसलमै थिइन्। खाना खाने बेला भएपछि आरती घर आउँदा जाँदा ज्योतीलाई सलको पासोमा झुण्डिएको देखेर चिच्याइन्। छरछिमेर जुट्यो। बुवाआमा पनि पसलबाट घर पुगे। त्यो बेलासम्म ज्योतीले प्राण त्यागी सकेकी थिइन्।

परिवारसँग हिम्मत र भरोसाका कुरा गरेपनि साथीहरुसँग ज्योतीले कृष्णको धोकाले समाजमा आफ्नो परिवारलाई बाँच्न मुस्किल बनाइदिएको कुरा साझा गरिरहन्थिन्। प्रमोद भन्छन्, 'हमर बेटीले हत्यारा कृष्ण छै(कृष्णकै कारण छोरीले प्राण त्याग्न बाध्य भइन)' इनरबत्ती भन्छिन्,‘ज्योतीके निसाफ दियौ सरकार(ज्योतीलाई निसाफ दिनुस्, सरकार)’

मंगलबार प्रमोदले कृष्णलाई विपक्षी बनाएर इलाका प्रहरी कार्याल कडरबोनामा आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गराएका छन्।

प्रकाशित: २६ श्रावण २०७८ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App