८ वैशाख २०८१ शनिबार
समाज

सुर्खेतमा बढ्दै कोरोना संक्रमण

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा सुर्खेत जिल्लामा दुई सय ४७ जना नयाँ संक्रमितहरु फेला परेका छन्। 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका अनुसार हाल सुर्खेतमा तीन सय ६० जना कोरोना संक्रमितहरु छन्। ति मध्ये तीन सय ४२ जना होम आइसोलेसनमा छन् भने १५ जना सामान्य उपचारमा छन्। एक जनालाई आइसियूमा राखेर तथा दुई जनालाई भेन्टिलेटरमा राखेर संक्रमितको उपचार भइरहेको छ।

शुक्रबार सुर्खेतमा दुई जना संक्रमितको मृत्यु भयो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेका अनुसार गुर्भाकोट नगरपालिका–८ की ५७ वर्षीया महिला र वीरेन्द्रनगर नगरपालिका–४ को ५० वर्षको पुरुषको मृत्यु भएको हो। वाग्लेका अनुसार पछिल्लो एक सातायता कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ। ‘दैनिक संक्रमितहरुको संख्या बढ्दै गएको छ, यसको रोकथामका लागि स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ,’ वाग्लेले भने, ‘मास्क लगाउने, सेनिटाइज प्रयोग गर्ने, अटेर गर्नेहरुलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने र मृत्यु दर घटाउन अस्पतालको क्षमता वृद्धि गर्ने काममा लाग्नु आवश्यक छ।’

उनले अस्पतालहरुमा बेड र अक्सिजनको सुनिश्चितता अहिलेको मुख्य आवश्यकता रहेको बताए। ‘दोस्रो लहरको कोरोना संक्रमणका बेलाको सिकाईलाई अहिले कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘परीक्षण दर बढाउनुका साथै अस्पतालको क्षमता वृद्धि र अक्सिजनको जोहो गर्नु आवश्यक देखिएको छ।’

१५ प्रतिशतलाई खोप

सरकारले सुर्खेतका १५ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएको छ। सुर्खेतमा पूर्ण मात्रामा खोप लगाउनेको संख्या आठ प्रतिशत छ। जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख निधिका अनुसार हालसम्म ६५ हजार ४५८ जनालाई पहिलो मात्रा लगाइएको छ भने ३२ हजार ७४३ जनाले पूर्ण खोप लगाएका छन्। एक साताभित्रै पूर्णखोप लगाउन बाँकी जनसंख्यालाई लगाइने उनले जानकारी दिए।  

प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि डेडिकेटेड एम्बुलेन्सहरु तयारी अवस्थामा राखेको छ। अहिले वीरेन्द्रनगर नगरपालिका र जनस्वास्थ्य सेवा कार्यालयमा मात्रै हुँदै आएको कोरोना परीक्षणलाई सबै पालिकाहरुमा पुर्‍याउने तयारी भइरहेको छ। ‘कोरोना परीक्षण र खोपलाई संगसंगै लिएर जाने तयारी गरिरहेका छौं,’ उनले भने, ‘कोरोना संक्रमितहरुको संख्या अझै बढ्ने अपेक्षा हामीले गरेका छौं।’ 

नगरपालिकामा सक्रिय संक्रमितको संख्या पाँँच सयमाथि र गाउँपालिकामा दुई सयमाथि सक्रिय संक्रमितको संख्या पुगेमा पूर्ण लकडाउन गर्ने सरकारको नीति छ। हाल सक्रिय संक्रमितहरु मध्ये अधिकांस वीरेन्द्रनगरका हुन्।

प्रकाशित: २२ श्रावण २०७८ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App