१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली प्रतिष्ठानको विकासमा साथ दिन्छु: प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रमुख गोबिन्द प्रसाद कलौनीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विकासमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महामारीका समयमा कर्णाली प्रतिष्ठानले देखाएको तदारुकताको उच्च प्रशंसा गरे।  

उनले प्रतिष्ठानले गरेको स्वास्थ्यसेवा, शिक्षा र स्वास्थ्य अनुसन्धानमा देखाएको तदारुकता निकै उदाहरणीय रहेको बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्धारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कलौनीले प्रतिष्ठान स्थापनाको दश बर्षमा भएको उपलब्धि निकै भरोसायोग्य रहेको बताए।  

उनले भने,‘प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा गरेको प्रयासको प्रशंसा गर्दछु। प्रतिष्ठानको काम प्रति उत्साहित छु। अब सेवा क्षेत्र भित्रका १३ जिल्लामा उपचार कार्यमात्र नभएर जनचेतना मुलक कार्यमा पनि जोडि दिनुहोला। ’ उनले प्रतिष्ठानले कोरोना महामारीका समयमा खेलेको भुमिका निकै राम्रो देखिएको भन्दै आगामी दिनमा पनि थप उर्जा र हौसलाका साथ काम गर्न प्रतिष्ठानका पदाधिकारी,कर्मचारी र स्वास्थ्यकर्मीलाई आग्रह गरे।  

संघीयता कार्यन्वयन संगै बनेका संघीय,प्रदेश र स्थानीय सरकार संग सरोकार रहेका बिषयबस्तुमा पहल गर्ने बताउँदै प्रदेश प्रमुख कलौनीले भने,‘तीन तहको सरकारबाट सहयोग उपलब्ध गराउनको लागि मेरो हैसियतबाट पहल हुनेछ। यसमा मेरो गम्भीर ध्यान गएको छ। ’  

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा,शिक्षा र अनुसन्धानमा थालेको प्रयास सुखद भएको बताउँदै उनले स्वास्थ्य क्षेत्रको विकास र उन्नतीका लागि सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए। अहिले हामी कोरोना महामारीमा छौ। विश्व आतंकित छ। यतिबेला महासंकटको सामाना गर्नु पर्ने बेला हो। संकट संग लड्दै, चुनौतिको सामाना गर्दै  अगाडी बढ्नु अहिलेको अपरिहार्यता रहेको औल्याए।  

छिट्टै पाँचसय बेडको अस्पताल बनाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य पुरा गर्नुपर्ने बताउँदै प्रमुख कलौनीले भने,‘हौसला उच्च रहोस। काममा सफल रहनुस। म मरो तर्फबाट हुन सक्ने सम्पुर्ण सहयोग गर्न तयार छु। ’कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल सम्म गरेका उपलब्धि,समस्या र चुनौति समेटिएको प्रस्तुती गरेका थिए।  

उनले अस्पतालमा बिजुली,फोहोर व्यवस्थापन,स्टाफ बस्ने क्वाटर,बालबालिकाको लागि सुविधा सम्पन्न विद्यालयको अभाव,इन्टरनेट सेवाको समस्या र हस्पिटालिटीको समस्या देखिएको बताए। रेक्टर थापाले अस्पतालले भोग्नु परेका समस्याको समाधानको लागि पहल गरिदिन प्रदेश प्रमुख कलौनी संग अनुरोध गरेका थिए।  

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की,नेपाली सेना श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा, गणपति रविन थापा,सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई,प्रहरी निरीक्षक युवन चौधरी,सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ,नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही लगायत अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। अवलोकन भ्रमणका लागि जुम्ला पुगेका कलौनीले जुम्लाको शिक्षा,स्वास्थ्य र विकास निर्माणका बिषयमा छलफल गरेका छन्।

प्रकाशित: २२ श्रावण २०७८ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App