१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आज उपत्यकामा घण्टाकर्ण पर्व मनाइँंदै

टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा शुक्रबार काठमाडौं उपत्यकाका टोलटोलमा धुमधामसाथ घण्टाकर्ण चतुर्दशी पर्व मनाइँदैछ। यस पर्वलाई स्थानीय नेवार समुदायमा गथांमुगः चहे पनि भन्ने गरिन्छ। विशेष गरी उपत्यकाका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङ्लोलगायतले बनाएको राक्षसरूपी गथांमुगको साँझ दाहसंस्कार गरी पर्व मनाउने चलन छ। यसक्रममा यहाँका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।

गथांमुग बनाउन टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, परालको संकलन गर्ने गरिन्छ। संकलित नर्कट, छ्वालीबाट तीनखुट्टे गथांमुग बनाइन्छ । साथै घरमा फाल्नुपर्ने पुरानो नाङ्लोमा मुख, नाक, कानलगायत ज्ञानेन्द्रीय अंग लेखी हाँडीको टाउको दिइएको हुन्छ। गथांमुग बनाउँदाको विशेषता भनेको यौनांग झल्काउनु रहने देखिएको छ । दुईवटा ठूल्ठूला भोगटे अण्डाशयका रूपमा झुन्ड्याएर त्यसका बीचमा लट्ठीमा परालले घेरेर लामो लिंगोका साथ यौनांग प्रदर्शन हुने गरी गथांमुग बनाइएको हुन्छ।

टोलवासी मिलेर साँझ टोलटोलमा गथांमुग बनाएपछि त्यसलाई बोकेर दाहसंस्कारका लागि लिएर जान्छन्। सहभागी बाँकी सयौंले छ्वालीको राँको बालेर दाहसंस्कारमा सहभागी भएका हुन्छन्। यसक्रममा उनीहरूले अश्लीलताको संकेत गर्ने हल्ला गर्ने चलन छ। टोलटोलमा बनाएको गथांमुगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोबाटो, चौबाटोमा जलाइन्छ।

कलासंस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसीका अनुसार यो संस्कृति पर्वमा मात्रै सीमित नभई यससँंग वैज्ञानिक कारण पनि जोडिएको सुनाउँंछन्। रोपाइँपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँग जोडिएको उनी तर्क गर्छन् । जीउभरि घण्टा झुन्ड्याएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको उनी प्रस्ट्याउँछन्। दाहसंस्कारबाट फर्किंदा बाटामा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन अद्यापि छ। फर्केपछि दाहसंस्कारमा सहभागी फर्केर आआफ्नो घरमा छ्वाली बालेर धुवाँले घरलाई सेक्ने चलन छ । साथै आआफ्नो घरको ढोकामा किला ठोक्ने गरेर सम्हे बजी (भोज) खाने चलन छ। पर्वका दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गर्ने प्रचलन अहिले पनि छ।

घण्टाकर्ण चतुर्दशीका विषयमा एउटा प्रसिद्ध किंवदन्तीसमेत रहेको छ। परापूर्वकालमा नेपालमा गथांमुग नाम गरेको एउटा नास्तिक थियो, जसलाई सत्यनिष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका उसले मानिसलाई मारिदिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिँड्ने मानिससित जगात (पैसा) उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो । पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो । महिलालाई बलात्कार गथ्र्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो। घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतंकित थिए।

एक दिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो। घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्दा घण्टाकर्णको आतंकबाट पीडित भ्यागुताले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो। अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो। उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सकेन। यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुंगामुढा र लाठीले हिर्काएर मारिदिए। यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाए। मानवताविरोधी घण्टाकर्ण मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालिएको जनविश्वास छ। तर हिजोआज इतिहासविद्हरूले घण्टाकर्ण राक्षस नभई भगवान् भएको तर्क पनि राख्न थालेका छन्।

प्रकाशित: २२ श्रावण २०७८ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App