८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मेलम्चीमा विनाशकारी बाढीपहिरो: एक होइन, बहु कारण कारक

मेलम्चीमा एकभन्दा बढी कारणले विनाशकारी बाढीपहिरो निम्ताएको दुईवटा अध्ययन प्रतिवेदनले देखाएका छन्। असार १ मा मेलम्ची नदीमा भीषण बाढीपहिरो आउँदा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससहित मेलम्ची बजार क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। मेलम्ची नदीमा अचानक ठूलो बाढीपहिरो आएसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल इन्जिनियरिङ एसोसिएसनले छुट्टाछुट्टै अध्ययन गरेका थिए।  

दुई संस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ। ‘मेलम्चीमा बाढीपहिरो निम्तिनुको एउटा मात्रै कारण जिम्मेवार हुन सक्दैन। यो प्रकोप हुनुमा धेरै कारक भएको देखिन्छ’, इसिमोडको प्रतिवेदनमा उल्लेख छ।  इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरूणभक्त श्रेष्ठ मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटामात्रै कारण नरहेको बताउँछन्। ‘मेलम्चीमा बाढीपहिरो आउनुमा एउटामात्रै कारण छैन,’ उनले भने, ‘धेरै कारण एकैपटक जुट्दा यस्तो खालको विपद् आएको हो।’ श्रेष्ठले सबै कारण एकैपटक जुट्दा यस्तो खालको विपद् निम्तिएको बताए। ‘यो एउटा कारणले मात्रै हो भनेर भन्न सकिँदैन। 

हिमताल पनि फुटेको छ, पानी पनि परेको छ। भू–स्खलन पनि भएको छ, पहिरो पनि गएको छ,’ श्रेष्ठले भने, ‘यिनै कारणले यस्तो खालको क्षति हुन गएको हो।’ उनले थपे, ‘भ्रेमाथाङ भन्ने ठाउँमा धेरै पहिला खोला थुनिएर ग्रेगान थुप्रिएको थियो। बाढीले सो ठाउँको ग्रेगान फुटाएसँगै चाप बढेर तल्लो तटीय क्षेत्रमा धेरै क्षति पुर्‍याएको देखिन्छ।’ उनले मेलम्ची नदी ठाउँठाउँमा थुनिने र खुल्ने प्रक्रिया चल्दा पनि बस्तीमा धेरै क्षति पुगेको बताए। मेलम्ची नदीमा बाढीपहिरो आउनुमा २०७२ सालको भूकम्पको पनि असर देखिएको छ। ‘भूकम्पले पनि मेलम्ची नदीको जलाधार क्षेत्रको धरातल कमजोर बनाएकै हो,’ उनले भने, ‘भूकम्पका बेला पनि त्यहाँ धेरै पहिरो गएका थिए। एउटा सानो हिमताल पनि फुटेको हो।

तर, त्यही हिमताल फुटेर यो सबै भएको भने होइन।’ इसिमोडले स्याटेलाइट तस्बिर र स्थलगत अध्ययनको आधारमा प्रतिवेदन तयार पारेको हो। त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका प्राध्यापक डा विष्णुप्रसाद पौडेल पनि मेलम्चीमा विनाशकारी बाढीपहिरो एउटामात्रै नभएर बहुकारणले निम्तिएको भएको बताउँछन्। ‘मेलम्चीमा विनाशकारी बाढीपहिरो एउटा कारणले मात्रै आएको देखिँदैन। यसमा बहुप्रकोपको कारण भएको प्रारम्भिक अध्ययनले देखाएको छ’, उनले भन। प्राध्यापक पौडेलले असार १ गते हिमताल फुटेरमात्र बाढीपहिरो नअअएको निष्कर्ष निकालेको बताए। ‘मेलम्चीको बाढीपहिरो हिमताल फुटेर आएको देखिएको छैन,’ उनले भने, ‘लगातार तीन/चार दिन परेको पानीले मेलम्ची जलाधार क्षेत्रको कमजोर भूभागको सतह खोसे्रर केही समय पानी थुनिएको देखिएको छ,’ उनले भने, ‘एकाध घण्टा थुनिएको पानी भिरालो भूभागमा एकैचोटी ह्वात्त बग्दा ठूलो क्षति भएको अनुमान गरेका छौं।’ 

उनले २०७२ सालको भूकम्प र त्यसको परकम्पनले मेलम्ची खानेपानी आयोजनाको जलाधार क्षेत्रमा रहेका संरचना चिराचिरा पारेकाले र त्यहाँ आकाशे पानी पस्दा बाढीपहिरो निम्तिएको बताए। उनले मेलम्ची जलाधार क्षेत्रमा अझै पनि पहिरो जाने क्रम नरोकिएकाले जलाधार संरक्षणमा प्रभावकारी कार्य नगरीकन मेलम्ची खानेपानी आयोजनाको काम सुरुवात गर्न उपयुक्त नहुने बताए। ‘मेलम्ची जलाधार क्षेत्रमा आएको बाढीपहिरोको पर्याप्त मात्रामा भौगर्भिक अध्ययन नगरीकन खानेपानी आयोजनाको काम अगाडि बढाउनु उपयुक्त देखिँदैन,’ उनले भने, ‘कतिबेला कमजोर धरातल खस्ने हो भन्ने कुनै निक्र्योल गर्न सकिने अवस्था छैन।’ नेपाल इन्जिनियरिङ एसोसियसनसँगको सहकार्यमा प्राध्यापक पौडेलसहित २२ जना इन्जिनियरले अध्ययन गरेका थिए।

प्रकाशित: २० श्रावण २०७८ ००:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App