coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात

दुर्घटनास्थल ।

कर्णाली नदीमा जीप खसेर शुक्रबार (हिजाे) बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरु चढेको बा ११ च ९३८ नम्बरको जीप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ। जीपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।  

उनले नदीको उच्च बहाव र धमिलो पानीका कारण खोजी कार्यमा कठिनाई भैरहेको बताए। गोताखोरको माध्यमबाट दम्पत्तीको खोजी कार्य भैरहेको छ। ‘खोजी कार्य भैरहेको छ’, उनले भने, ‘गोताखोरले पानी धमिलो भएकाले कठिन भैरहेको बताएका छन्।’  

डोटीको आदर्श गाउँपालिका–३ काँडेका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुबी जोशी जीपसँगै कर्णाली नदीमा खसेका थिए। उनीहरु कर्णाली चिसापानीबाट करिव साढे तीन किलोमिटर उत्तर मोहन्याल गाउँपालिका–७ बतासे डाँडाबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।  

उनीहरुसँगै जीपमा रहेका तीन बालबालिका भने घाइते अवस्थामा नदी किनारमा भेटिएका थिए। घाइते अवस्थामा भेटिनेमा १२ वर्षकी लक्ष्मी जोशी, ४ वर्षकी सावित्री जोशी र २ वर्षका भुवन जोशी रहेका छन्। उनीहरु सबै जोशी दम्पत्तीका छोराछोरीहरु हुन्। उनीहरुको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ।  

सो जीप जोशी आफैले चलाएको बताइएको छ। जीप ब्याक गर्ने क्रममा नदीमा खसेको हुनसक्ने प्रहरीको आशंका छ। जोशीको परिवार नेपालगञ्जमा उपचार गरेर घर फर्किने क्रममा चिसापानी–सोल्टा सडक खण्ड घुम्न गएको बुझिएको छ।  

उता कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा डुबेर बेपत्ता बालिकाको शव आज बिहान साढे सात बजेतिर भेटिएको छ। प्रहरीका अनुसार भजनी नगरपालिका–९ डोङपुरका धनबहादुर सिँहकी ६ वर्षकी छोरी अनु सिँहको शव घटनास्थ्लबाट झण्डै ३ किलोमिटर तल भेटिएको हो।

उनीसँगै नदीमा डुबेर बेपत्ता भएका धनबहादुर सिँहकै ९ वर्षका छोरी लक्ष्मी सिँह र सोही ठाउँका रामफल चौधरीका ७ वर्षकी छोरी जेनी चौधरीको शव भने हिजै भेटिएको थियो।  

उनीहरु नुहाउन गएका बेला दिउँसो साढे चार बजे नदीमा डुबेर बेपत्ता भएका थिए। कान्द्रा नदीमा नुहाउने क्रममा वर्षेनी बालबालिकाको ज्यान जाने गरेको छ।

प्रकाशित: १६ श्रावण २०७८ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App