coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिनहुँ सम्बन्ध विच्छेदका मुद्दा

गोरखा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दिनहुँ दर्ता हुने गरेका छन्। निषेधाज्ञाको समयमा पनि २०७७ असारदेखि २०७८ असारसम्म तीन सय ५१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश दिनबन्धु बरालले बताए।  

‘अन्यभन्दा सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा धेरै आउँछन्, दुई सय ५१ वटा सम्बन्ध विच्छेदका मुद्दा गत आवमा फस्र्योट गरिसक्यौं,’ उनले भने ‘बाँकी ९९ वटा बाँकी छन्।’ गत वर्ष अदालतमा सात सय २८ थान मुद्दा दर्ता भएका थिए। ‘झन्डै आधा मुद्दा सम्बन्ध विच्छेदका छन्,’ न्यायाधीश बरालले भने, ‘धेरै समय सम्बन्ध विच्छेदका मुद्दामा खर्च भएको छ।

’पारिवारिक बेमेल र एकअर्कामा शंकाको  दृष्टिकोणले सम्बन्ध विच्छेदका मुद्दा लिएर अदालत  पुग्नेहरू अधिकतर २४ देखि ४५ वर्षभित्रका छन्।  ‘मुद्दा लिएर आउनेहरू हेर्दा यौनिक रुपमा परिपक्क उमेर हो, यो उमेरका मानिस धेरै विदेश गएका हुन्छन्, परिवार एकआपसमा सँगै नहुँदा बेमेल सुरु हुन्छ,’ उनले भने, ‘सम्बन्ध विच्छेदको एउटा मुख्य कारण यो पनि हो।’ वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएका छन्। पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउने कानुनी प्रावधानपछि अहिले दर्ता हुने क्रम सुरु भएको छ।  

पतिले हिंसा गरेको, खानलगाउन नदिएको जस्ता गुनासा लिएर महिलाहरू सम्बन्ध विच्छेद गर्छन्। ‘हामी मेलमिलापलाई पहिलो प्राथमिकता दिन्छौं,’ न्यायाधीश बरालले भने, ‘तर जति सम्झाए पनि मान्दैनन्।’ अधिकतर सम्बन्ध विच्छेदमा लेनदेन हुने गर्छ। ‘दबाब सहन नचाहेर, वैदेशिक रोजगारीबाट सिर्जित पारिवारिक बेमेलका कारण विच्छेद धेरै भएको छ,’ अधिवक्ता स्थानेश्वर दुवाडीले भने। शारीरिक रुपमा यातना दिएर सम्बन्ध विच्छेद भएको घटना भने खासै नभएको उनले बताए।  

२०७७ बाट जिम्मेवारी सरेर आएका तीन सय १३ र २०७८ मा दर्ता भएका चार सय १५ मुद्दामध्ये चार सय २३ वटा जिल्ला अदालतले फस्र्योट गरिसकेको छ। तीन सय पाँच थान मुद्दा २०७८÷७९ का लागि जिम्मेवारी सरेको छ। ‘५८ दशमलव दुई प्रतिशत मुद्दा फस्र्योट भएको छ,’ उनले भने, ‘कोभिडको बेला पनि यो प्रगति राम्रो हो,’ जिल्ला न्यायाधीश बरालले भने। निषेधाज्ञाको समयमा पनि बालबालिका र थुनुवासम्बन्धी मुद्दा अदालतले फस्र्योट गरेकाले प्रगति बढेको उनले बताए।  

गोरखामा सम्बन्ध विच्छेदपछि धेरै मुद्दा जबरजस्ती करणी र बलात्कार प्रयासका रहेका छन्। ‘बालिका बलात्कारको मुद्दा पनि यहाँ धेरै छन्,’ न्यायाधीश बरालले भने। अदालतमा २६ थान मुद्दा मुलतबीमा छन्। तीमध्ये ६ थान जगाउने तयारीमा रहेको उनले बताए। आर्थिक अवस्था कमजोर भएका, असहाय र अनाथ व्यक्तिलाई सहयोग गर्न अदालतमा वैतनिक वकिल राखिएको हुन्छ। जिल्ला अदालतले वैतनिक वलिकमार्फत दुई सय ६६ जनालाई निःशुल्क सेवा दिएको जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७८ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App