coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप: एक वर्षमा १ सय ५१ जनाले देहत्याग

१८ वर्ष मुनिका १४ जना बालिकाले पनि गरे आत्महत्या

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप देखा परेको छ। एकपछि अर्को गर्दै कपिलवस्तुका बिभिन्न स्थानमा आत्महत्या गरी प्राणत्याग गर्नेहरु दिनहुँ बढिरहेका छन्। आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन्। 

जिल्ला प्रहरी कार्यालय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा कुल १ सय ५१ जनाले आत्महत्या गरेका छन्। जसमा ९० पुरुष र ६१ जना महिला छन्। झुन्डिएर ९८, बिष सेवन गरी ४९, आगो लगाई २, आत्महत्या दुरुत्साहनमा २ जना छन्। अघिल्लो आर्थिक वर्ष २०७७/०७७ मा १ सय ३० जनाले आत्महत्या गरेका थिए। गत वर्ष १८ देखि ६० वर्षका पुरुष ९४ जना र ६० वर्षभन्दा माथिका पुरुष ६ जनाले आत्महत्या गरेका छन्। यस्तै १८ वर्षमुनिका १४ जना बालिका, १८ देखि ६० वर्ष उमेरका ४४ जना महिला, ६० वर्षमाथिका ३ महिलाले समेत आत्महत्या गरेका  छन्। 

यस्तै बिवाहित पुरुष ७८, बिवाहित महिला ३५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ। अबिवाहित पुरुष १२ र अबिवाहित महिला २८ जनाले देहत्याग गरेका छन्।

बदलिँदो सामाजिक संरचना र परिवेशसंगै आत्महत्याको क्रम पनि बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ। कोरोनाका कारण बढ्दाे निराशले गर्दा मानसिक रोगी भई आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको छ। बढ्दो महंगी, बेरोजगारी, बदलिँदो सामाजिक परिबेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय अनुसार अधिकांश व्यक्तिहरु आर्थिक विपन्नताका कारण आत्महत्या गर्ने गरेका छन्।  

प्रेममा असफल भएपछि पनि आत्महत्या गरेको पाइएको छ। घरमा श्रीमान श्रीमतीबीच सधै हुने झैझडा, बिवादले गर्दा नै अधिकांशले आत्महत्या गरेको पाइएको छ। केही वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्या बढेसंगै त्यसले केही नकारात्क असर समेत देखाएको छ। विदेशमा रहेका श्रीमानले श्रीमतीको नाममा पैसा पठाउने तर तिनका श्रीमतीहरु अन्धाधुन्ध खर्च गर्ने र परपुरुषसंग लाग्ने गरेको समेत भेटिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। 

‘विदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कैयाै महिलाले आत्महत्या गरेको भेटिएको छ,’ उनले भने, ‘पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताकाे विषय छ।’ सामाजिक परिबेश तीब्ररुपमा बदलिरहेको अवस्थामा पुरातन साेच लाद्न खोज्ने, ईच्छा र आकांक्षा पूरा नहुँदा, पारिवारिक कलह, आवेग लगायतका मिश्रित कारणहरुले आत्महत्या गरेको घटनाको अनुसन्धानकाक्रममा पाइएको उनले बताए।

स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले आत्महत्यालाई समाजमा ब्यत्तिगत समस्याको रुपमा लिइएको बताए। उनले आत्महत्या समाजिक समस्या भएकाले यसलाई सबैले गम्भीररुपमा लिनु पर्ने बताए। जुनसुकै कारणले गरिको आत्महत्याको संख्या बढ्दै जानु ठूलो सामाजिक समस्या रहेकोले यस विषयमा सामाजिक सचेतना कार्यक्रम चलाउनु पर्ने उनको भनाइ छ। ‘समाजमा आत्मबिश्वास जागाउने खालको कार्यक्रम गर्न जरुरी छ ,’ उनले भने। बदलिँदो सामाजिक परिवेशमा बढ्दो गरिबीका कारण अधिकांश विपन्न व्यक्तिहरुमा आर्थिक अवस्था कमजोर भएपछि उनीहरुले आत्महत्या गर्ने गरेको कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाड बताउँछन्। 

केही व्यक्तिहरुमा मानसिक यातनाका कारण नैराश्यता पैदा हुँदा पनि विष सेवन गरि अथवा झुण्डिएर आत्महत्या गर्ने गरेका उनको भनाइ छ। विष सेवन गर्दा अधिकांशले मेटासिट नामक विषादीको प्रयोग गर्ने गरेको पर्याप्त पोष्टमार्टम रिपाेर्टहरुमा देखिएको उनले जानकारी दिए। जिल्लाका कतिपय बिषादी बिक्रेताले गैर किशानलाई थारै पेसाको लाभका लागि समेत बिषदी बिक्री गरेकोले पनि बिष सेवनबाट आत्महत्या गर्नेको संख्या बढी रहेको स्थानीयवासी बताउँछन्। कतिपयले भारतमा गएर बिषादी खरीद गरी सेवान गरी आत्महत्या गरेको प्रहरीले बताएको छ।

हरेक वर्ष आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि हुनु र झन त्यसमा पनि महिला र युवाहरुको संख्या बढी हुनुमा समाजमा एउटा चिन्ताको विषय बनेको समाजशास्त्र हरिराज शर्मा बताउँछन्। अभिभावकले बालबालिकामा दबाब दिँदा, किसान ऋणमा डुब्दा, दाइजोका कारण मानसिक यातना भोग्दा पनि समाजमा आत्महत्या गर्नेहरुको संख्या बढिरहेको हुँदा सामाजिक क्षेत्रबाट नै यसको न्यूनीकरण गर्न सकिने उनले बताए। 

बढ्दो जनसंख्या र परिवर्तित समाजमा आफ्नो आवश्यक्ता र चाहना पूरा गर्न नसकेपछि बढेको आत्महत्या अहिले एउटा ठूलो खोजको विषय बनेको उनले बताए। पारिवारिक झैझगडा, गरिबी र रोगबाट दिक्क मान्दै आत्महत्या गर्नेको संख्या त्रासदीपूर्ण तरिकाले बढेपछि यहाँ चिन्ता बढेको छ।

प्रकाशित: १४ श्रावण २०७८ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App