१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्व माओवादी लडाकु र नेपाली सैनिकसहित लुटपाटमा संलग्न समूह पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलको एक सुन पसलमा दिउँसै अत्याधुनिक हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। विराट चोकका खगेन्द्र थापाले आफ्नै घरमा सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा साउन १ गते अत्याधुनिक हतियार लिएर लुटपाट गर्न आए पनि सफल हुन सकेनन्। उक्त लुटपाट गर्न आएको समूहलाई प्रहरीले १२ औं दिनको दिन (मंगलबार राति) पक्राउ गरेको छ।  

लुटपाटको प्रयास गर्ने समूहका ७ जनामध्ये ६ जनालाई अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन) १ थान, म्याग्जिन थान १, गोली ६२ राउण्ड गोली, अटोमेटिक पेस्तोल १ थान, यसको म्याग्जिन १ थान र २ राउण्ड गोली, कटुवा पेस्तोल १ थान, ३०३ राइफलको गोली ४ थान एमपिआर लेखेको सञ्चार सेट २ थान बरामद गरेको मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए। फरार भएका एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

लुटपाट प्रयासमा संलग्न संखुवासभाको सभापोखरी–४ घर सुनसरीको इटहरी–२० तरहरामा डेरा गरी बस्ने वर्ष ३९ को प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का वर्षीय डाइमण्ड भन्न प्रमोद चौधरी, संखुवासभाको बारबिसे–५ का २२ वर्षीय मिसन राई, भोजपुर पौवादुम्मा–३ घर भई इटहरी–२० मा डेरा गरी बस्ने वर्ष ३० का नगेन्द्र राई र मोरङ सुन्दरहरैँचा–७ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।  

घटना भएका बेला पसल सञ्चालक थापा, उनकी श्रीमती टीकादेवी र ६ वर्षका नाति पसलभित्र थिए। टीकादेवी बाहिर निस्किएर होहल्ला गर्न थालेपछि स्थानीयको जमघट बढेसँगै पसलभित्रबाट निस्किएर लुटेरा समूह पेस्तोल देखाउँदै फरार भएका थिए। लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतङ्कित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो।

प्रहरी प्रमुख एसपी जिसीका अनुसार लुटेरा समूहले असार ३१ गते पनि लुटपाटको प्रयास गरेको र त्यस दिन सफल नभएपछि अर्को दिन आएका हुन्। ‘पक्राउ परेका मध्ये चन्द्रबहादुर राई पूर्व नेपाली सैनिक र डाइमण्ड पूर्व माओवादी कार्यकर्ता हुन्,’ एसपी जिसीले भने, ‘ यिनीहरु ७ जनाको समूह भए पनि अहिले ६ जनालाई पक्राउ गरेका छौं। यो समूहसँग ५/६ महिना अघिदेखि हतियार राख्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

घटनापछि सबै हतियार सुन्दरहरैँचाको नमुना सामुदायिक वनको एउटा रुखको टोड्कोभित्र लुकाइ राखेको अवस्थामा बरमाद गरेको हो। लुटपाटको प्रयास असफल भएपछि यो समूह भित्री बाटो प्रयोग गर्दै इटहरीको तरहरामा बस्दै आएको र त्यहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ४ वटा कसुरमा मुद्दा चलाउन बुधबार म्याद थपे गरेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १४ श्रावण २०७८ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App