१ कार्तिक २०७८ सोमबार
समाज

घरमै पुगेर नागरिकता प्रदान

घरको छतबाट खसेर मेरुदण्ड भाँचिएकी वीरेन्द्रनगर–१० मुस्लिम टोलकी रियाना बानुलाई ओछ्यानमै पुगेर नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी छवी रिजाल। तस्बिर: नगेन्द्र /नागरिक

घरको छतबाट खसेर रियाना बानुको मेरुदण्ड भाँचियो। त्यसयता उनको तल्लो शरिर चल्दैन्। दिसा–पिसाव गर्नका लागि पनि उनलाई सहारा चाहिन्छ। परिवारले उपचारका लागि लाखौं खर्च गर्‍यो। अहिले पनि नियमित थेरापी र औषधि सेवन गर्नुपर्छ। अघिल्लो वर्ष एसईई परीक्षा उत्तीर्ण गरेकी बानु माथिल्लो कक्षा अध्ययन गर्न पाएकी छैनन्। घरको आर्थिक अवस्था कमजोर छ।

‘घरको छतमा कपडा सुकाउन गएको बेला अघिल्लो वर्षको जेठ १६ बेहोस् भएर खसेछु,’ बानुले भनिन्, ‘त्यसयता ओछ्यानमै थलिएकी छु।’ बानु १७ वर्षकी भइन्। नागरिकता नहुँदा उनी सरकारबाट पाउने सुविधाबाट बञ्चित थिइन्। मेरुदण्ड भाँचिएकी बानु प्रशासन कार्यालयसम्म आउन सक्ने अवस्थामा थिइनन्।

मुस्लिम अगुवा सज्जत खानले रियानाको समस्या अघिल्लो साता प्रमुख जिल्ला अधिकारी छवी रिजाललाई सुनाए। ‘नागरिकता सबै प्रकारका सुविधा पाउने प्रवेश विन्दू हो,’ बुधबार रियानालाई ओछ्यानमै नागरिकता दिन पुगेका प्रजिअ रिजालले भने, ‘प्रशासन जनताप्रति जिम्मेवार छ, अपाङ्गतालगायतका कारणले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने नीति लिएका छौं।’

वीरेन्द्रनगर–१० को मुस्लिम बस्तीमा हवी बक्सको दुई कोठे घर छ। घरको एउटा कोठाको ओछ्यानमा रियाना थलिएकी छन्। आर्थिक अभावका कारण औषधि सेवन गर्न र थेरापी गर्न पनि सकस भइरहेको छ। यो अवस्था देखेपछि प्रजिअ रिजालले पाँच हजार रुपैयाँ पनि सहयोग गरे। ‘आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाएको, समयमै औषधि र थेरापी गर्न नपाएको अवस्था देखेँ,’ प्रजिअ रिजालले भने, ‘उपचारमा थोरै भएपनि सहयोग पुग्ने सोचेर पाँच हजार रुपैयाँ सहयोग गरे।’

छोरीको उपचारकै लागि हवीलाई सात लाख रुपैयाँ ऋण लागेको छ। हवीले अटो रिक्सा चलाएर औषधि र थेरापीको खर्च जुटाउँदै आएका थिए। अघिल्लो महिना त्यही अटो रिक्सा दुर्घटना भयो। अटोमा बसेका दुई जना गम्भीर घाइते भए। भारतको लखनउ पुगेर उपचार गरेको तीन लाख ३५ हजार रुपैयाँको बिल आइपुगेको छ। ‘छोरीका लागि दैनिक औषधि र साप्ताहिक थेरापीको जोहो गर्न धौ–धौ भइरहेको छ,’ हवीले भने, ‘यस्तो अवस्थामा अटो दुर्घटनाका घाइतेको उपचारमा लागेको खर्चको बोझ थपिएको छ।’

रियाना दुर्घटनामा पुर्नअघिनै उनकी आमाले अर्को विवाह गरिन्। बुवाले अर्को विवाह गरे। रियाना अहिले बाजे–बज्यैसँग आश्रित छिन्। अन्न उब्जाउनका लागि जमिन छैन्। अटो रिक्सा दुर्घटनामा परेपछि हवी झोलामा कपडा बोकेर गाउँगाउँ विक्री गर्न हिँड्छन्। ‘दिनमा चार–पाँच सय आम्दानी हुन्छ,’ उनले भने, ‘त्यसैले परिवार पाल्नुपर्छ, छोरीको उपचार गर्नुपर्छ।’  

नागरिकता पाएपछि भने केही सहज हुने उनले बताए। ‘सिडिओसाप घरमै आएर नागरिकता दिनुभयो, अव अपाङ्तगा परिचयपत्र बनाएपछि औषधिमा लाग्ने केही खर्च जुट्ला,’ उनले भने, ‘अपाङ्गता परिचयपत्रले औषधि गर्दा पनि केही छुट हुन्छ भन्ने सुनेको छु।’ उनले आर्थिक अभावकै कारण छोरीलाई कक्षा ११ मा भर्ना गर्न नसकेको बताए। ‘छोरी स्कुल जान सक्दिनन्, अनलाइन कक्षाका लागि इन्टरनेट, मोवाइल र कितावकपी आवश्यक पर्छ,’ उनले भने, ‘औषधि गर्न सकिरहेका छैनौं, यस्तोमा कहाँबाट नेट र मोवाइल किन्न सक्नु।’

प्रकाशित: १३ श्रावण २०७८ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App