१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कैदीबन्दीका लागि पुस्तकालय!

पुस्तकालयको व्यवस्थापछि पुस्तक पढ्दै महानगरीय प्रहरी वृत जगातीमा रहेका कैदीबन्दीहरु ।

प्रहरीको कारागारभित्र रहेका कैदीबन्दीहरुका लागि पनि पुस्तकालयको व्यवस्था गरेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ, तर भक्तपुरस्थित महानगरीय प्रहरी वृत जगाती भक्तपुरले कैदीबन्दीका लागि पुस्तकालयको व्यवस्था मिलाएको छ। वृतका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले एक कार्यक्रमबीच पुस्तकालयको उद्घाटन गरेका छन्।  

कैदीबन्दीलाई अध्ययनशिल बनाउन पुस्तकालयको व्यवस्था गरेको वृतले जनाएको छ। '२४ सै घण्टा एउटा कोठाभित्र थुनिएर बस्नुपर्दा उनीहरुलाई वाक्कदिक्क लाग्नसक्छ', महानगरीय प्रहरी वृत जगाती भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) थापाले नागरिकसँग भने, 'त्यो भन्दा त्यो वाक्कदिक्कमा बस्नुपर्दा कूनियततर्फ ध्यान नजाओस् भन्ने उद्देश्यले हामीले पुस्तकालयको व्यवस्था मिलाएका हौं।' यसले कैदीबन्दीलाई फुर्सद्को सयम उपयोग मात्रै हुने नभई नयाँनयाँ ज्ञान हासिल गर्न सकिने वृतले जनाएको छ।  

जनाइए अनुसार अहिले पहिलो दिन यहाँ एक सय ५० वटाको हाराहारीमा पुस्तकहरु छन्। यी पुस्तहरु सामान्यदेखि लिएर विशिष्टसम्म रहेको वृतले जानकारी गराएको छ। यहाँ अपराध, कानुन, मनोविज्ञान, नेपालका ऐन नियमदेखि कथा, कवितासहितका साहित्यिक पुस्तकहरु रहेका छन्। वृतमा रहेका सबै पुस्तकहरु कैदीबन्दीको पुस्तकालयमा पठाएको वृतले जनाएको छ। साथै केही पुस्तकहरु दाताहरुले पनि सहयोग गरिदिएको जनाएको छ।  

पुस्तकहरुका साथै यहाँ प्रहरी प्रधान कार्यालयबाट प्रकाशित हुने बुलेटिनहरु उपलब्ध गराइएको छ। साथसाथै वृतमा दैनिक आउने पत्रपत्रिकाहरु पनि उनीहरुलाई दिइएको छ। 'विहान एकफेर हामीले पढिसकेपछि सबै पत्रपत्रिकाहरु पनि उनीहरुकै लागि पुस्तकालयमा पठाउने गरेका छौ', डीएसपी थापाले थपे। बाहिर जेसुकै भए पनि भित्र कारागारमा आए पछि उनीहरुलाई सम्मानका साथ राख्नुपर्ने तर्क उनी गर्छन्। किनकि उनीहरु अपराधी घोषित भएका छैनन्, आरोपित मात्रै हुन्, भोलि उनीहरुलाई अदालतले निर्दोष पनि सावित गर्नसक्छ, त्यसकारण कैदी हुँदैमा अपराधीको हिसावले हेर्नुहुँदैन र उनीहरुलाई पनि सम्मान गर्नुपर्छ भन्ने धारणाका साथ यो कन्सेप्टका साथ काम थालेको उनले स्पष्ट पारे।  

वृतले जनाए अनुसार वृतमा यहाँ प्रायः दुई दर्जनको संख्यामा कैदीबन्दीहरु हुन्छन्। अदालतले फैसला नगर्दासम्मका कैदीबन्दीहरु यहाँ हुन्छन्। कोही जाने र कोही आउने हिसावले जहिले पनि साधारणतया दुई दर्जन कैदीबन्दीहरु रहने वृतले जानकारी गराएको छ। नेपालको कानुन अनुसार प्रहरीले अनुसन्धानको क्रममा बढीमा २५ दिनसम्म प्रहरीको कैदमा राख्नसक्ने व्यवस्था रहेको छ।  

कैदीबन्दीहरु यहाँ दुई वटा कोठामा रहेका छन्। उनीहरुका लागि २४ घण्टा पहरेदार हुन्छन्। त्यसकारण उनीहरुले पुस्तक पढ्न उनीहरुले माग्नुपर्छ। आफै गएर पुस्तक लिन पाउँंदैनन्। पहरामा बसेका प्रहरीलाई अनुरोध गरी उनीहरुमार्फत नै पुस्तक लिएर पढ्ने व्यवस्था मिलाइएको छ।  

बताइए अनुसार औपचारिक रुपमा कैदीबन्दीका लागि यसरी पुस्तकालको व्यवस्था कहीकतै छैन। सामान्य रुपमा कसैले विशेष सोच राखेर मात्रै यस्तो व्यवस्था हुनसक्छ। तथापि भक्तपुरमा कैदीका लागि पुस्तकालयको व्यवस्था भएको यो पहिलो भएको बताइएको छ।

प्रकाशित: ११ श्रावण २०७८ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App